संकटको निकास मध्यावधि निर्वाचन हुनै सक्दैन : मोहन वैद्य

काठमाडौं, १६ पौष । मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा क्रान्तिकारी (माओवादी)ले राज्यसत्ता तथा व्यवस्थामाथि पैदा भएको यस प्रकारको संकटको निकास मध्यावधि निर्वाचनद्वारा हुनै नसक्ने टिप्पणी गरेको छ । प्रधानमन्त्री ओलीद्वारा गरिएको संसद विघटन गरी चुनाव घोषणा गरेपछिको परिस्थितिबारे छलफल गर्न नेकपा (क्रान्तिकारी माओवादी)को स्थायी कमिटी बैठक बसेको थियो । बैठकका निर्णयबारे जानकारी दिन महासचिव वैद्यले आज विज्ञप्ति जारी गरेका हुन ।
विज्ञप्तिमा प्रधानमन्त्री ओलीद्वारा गरिएको संसद विघटनको कदम आर्थिक, राजनीतिक तथा सांस्कृतिक रुपमा संकटग्रस्त बन्दै गएको वर्तमान प्रतिक्रियावादी राज्यसत्ता, व्यवस्था र संविधानको असफलताको परिणाम भएको उल्लेख छ ।
‘यस संकटको वास्तविक निकास वर्तमान राज्यसत्ता तथा व्यवस्थाको अन्त्य, संघीय जनगणतान्त्रिक व्यवस्था एवम् सरकारको स्थापना र वैज्ञानिक समाजवादद्वारा नै हुन सक्तछ,’ विज्ञप्तिमा लेखिएको छ ।
देशमा आन्तरिक तथा बाह्य रुपमा विभिन्न प्रतिक्रियावादी, साम्राज्यवादी तथा विस्तारवादी शक्तिहरुको चलखेल तीव्र रुपमा बढ्दै गएको निष्कर्ष निकालेको नेकपा ९क्रान्तिकारी माओवादी०ले देशको राष्ट्रिय स्वाधीनता तथा सार्वभौमिकताको रक्षा, जनताका जनतान्त्रिक हक अधिकारको प्राप्ति र जनजीविकाको सुनिश्चितताको प्रश्नमा गंभीर खतरा उत्पन्न भएको जनाएको छ ।