राष्ट्रिय सभाको अधिवेशन आज, अपराह्न ४ बजेबाट अधिवेशन प्रारम्भ

२०७७ पुष १७ गते, शुक्रबार

काठमाडौं, १७ पौष । राष्ट्रिय सभाको अधिवेशन शुक्रबार (आज) देखि प्रारम्भ हुँदैछ । प्रतिनिधि सभा विघटन भएपछि पहिलोपटक सङ्घीय संसद्को एक मात्र सदनको अधिवेशन बोलाइएको हो । शुक्रबार अपराह्न ४ बजेबाट अधिवेशन प्रारम्भ हुनेछ ।
सङ्घीय संसद् सचिवालयले अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
सङ्घीय संसद् सचिवालयले अधिवेशन प्रारम्भको सम्भावित कार्यसूचीसमेत सार्वजनिक गरेको छ । बिहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सम्भावित कार्यसूची तय गरेको हो । सार्वजनिक सम्भावित कार्यसूचीमा अधिवेशन प्रारम्भबारे राष्ट्रपति कार्यालयको पत्रबारे जानकारी गराइनेछ । यस्तै मन्त्रिपरिषद् पुनर्गठनबारे राष्ट्रपति कार्यालयको पत्रको जानकारी पनि सभामा गराइनेछ । यस्तै बैठकमा अधिवेशन नचलेको अवस्थामा बाधा अड्काउबाट भएको समिति गठनको आदेश पनि अनुमोदनका लागि सदनमा पेस गरिने सम्भावित कार्यसूची रहेको छ । यस्तैै अधिवेशन प्रारम्भका अवसरमा संसदीयदलका नेताहरूले सम्बोधन गर्ने पनि सम्भावित कार्यसूची रहेको छ । यसैगरी अधिवेशन नभएको अवधिमा सरकारको सिफारिसमा विभिन्न समयमा जारी गरेका सातवटा अध्यादेश पनि पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal