लोडसेडिङ भएको होईन, भविष्यमा समेत हुँदैन : विद्युत प्राधिकरण

२०७७ पुष १७ गते, शुक्रबार

काठमाडौँ, १७ पौष । नेपाल विद्युत प्राधिकरणले विद्युतको मागलाई थेग्ने गरी आपूर्ति भइरहेकाले लोडसेडिङको अवस्था नरहेको बताएको छ ।

अघोषित लोडसेडिङ शुरु भएको भनी आलोचना भइरहेका बेला प्राधिकरणले विज्ञप्ति निकालेर भविष्यमा समेत लोडसेडिङ नहुनेमा बताएको हो ।
कहिलेकाँही राष्ट्रिय विद्युत प्रणालीको भारवहन क्षमताभन्दा बढी विद्युत प्रवाह हुँदा केही समयलाई प्रसारण र आपूर्ति प्रणालीमा अवरोध उत्पन्न भएपनि त्यो लोडसेडिङ नभएको प्राधिकरणको दाबी छ । संस्थाले त्यस्तो अवरोध निवारणका लागि प्राधिकरणले काम गरिरहेको जनाएको छ ।

विभिन्न कारणले विद्युतका पोलहरु सार्ने, ट्रान्सफर्मर फेरबदल गर्ने, पूराना संरचना मर्मतसम्भार गर्ने लगायतका काम गर्दा सम्बन्धित स्थानको विद्युत आपूर्ति केही समय काट्नुपर्ने बाध्यता हुने प्राधिकरणले जनाएको छ ।
गत पुस १३ र १४ गते विद्युत प्रणालीमा केही समय प्राविधिक कारणले अवरोध आएपनि त्यसको निराकरण भइसकेको विज्ञप्तिमा जनाइएको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal