बिहीबार २५ अंकले बढेर २१ सय नजिक पुग्यो नेप्से परिसूचक, ९३ कम्पनीका लगानीकर्ता मालामाल

काठमाडौँ, १७ पौष । सेयर बजार परिसूचक नेप्से यस साता बुलिस गतिमा देखिएको छ । तर कारोबार रकममा भने साताभरलाई औसतमा हेर्दा उल्लेख्य कमी आएको छ । सेयर बजार बिहीबार २५ अंकले बढेर २१ सय नजिक पुगेको छ।
बजारमा निर्जीवन बीमा र सामूहिक लगानी कोष समूहको उपसूचकबाहेक बिहीबारको दिनभरी हरियाली छाएको थियो। अन्त्यमा २५ अंकको वृद्धिसहित २०८७ अंकमा बजार बन्द हुँदा सामूहिक लगानी कोष समूहको उपसूचक समेत हरियो बन्यो ।त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ७.४० अंकले बढेर ३९८.७० बिन्दुमा पुगेको छ ।
आज हिमालयन डिष्टिलरीको सर्वाधिक रकम ४८ करोड रुपैयाँको कारोबार हुँदा नेपाल लाइफको ३७ करोड, नागरिक लगानी कोष (सीआईटी) र नेपाल टेलिकम (एनटिसी) को २८/२८ करोड रुपैयोँको सेयर किनबेच भयो।
सबै उपसूचक हरियो भएको बजारमा निर्जीवन बीमा समूहको सूचक भने रातो नै रह्यो । ट्रेडिङ र जीवन बीमा समूहमा १०० अंकभन्दा बढीको वृद्धि आउँदा होटल, बैंकिङ र अन्य समूहको सूचक पनि बढेको छ।
साल्ट ट्रेडिङ कर्पोरेसनको सेयर मूल्य १० प्रतिशतले बढ्दा एभरेष्ट बैंक, लक्ष्मी बैंक र सिद्धार्थ बैंकको सेयर मूल्य ६ प्रतिशतभन्दा धेरै वृद्धि भएको छ।
धेरै घट्नेमा भने नारायणी डेभलपमेन्ट बैंक, कालिका माइक्रो क्रेडिट विकास बैंक र आइएमई जनरल इन्स्योरेन्स रहेका छन् । यी कम्पनीको सेयर मूल्य ३ प्रतिशत हाराहारीले घटेको छ।
बिहीबार २०७ कम्पनीको सेयर किनबेच हुँदा ९३ कम्पनीको सेयरका लगानीकर्ताले कमाएका छन् भने ७० कम्पनीकाले गुमाए । १२ कम्पनीको मूल्य स्थिर रह्यो ।