ओलीको कटाक्ष : पार्टी बैठकमा आउनुस्, अपराध क्षमा गरिदिउँला, कार्यकारी दिँदा उपद्रो मच्चाउनुभयो हटाइदिए

२०७७ पुष १९ गते, आईतवार

पुस १९, काठमाडौं । नेकपा (ओली) पक्षका अध्यक्ष केपी शर्मा ओलीले अध्यक्षहरू (दाहाल-नेपाल पक्ष) पुष्पकमल दाहाल र माधवकुमार नेपाललाई पार्टीका बैठकमा फर्किन आग्रह गरेका छन् ।
आफूनिकट विद्यार्थी संगठन अनेरास्ववियुको काठमाडौंमा भएको भेलामा ओलीले पार्टीका बैठकमा फर्किए दाहाल-नेपाल पक्षले गरेका अपराधु क्षमा गरिदिने बताएका हुन् ।


कार्यकारी दिँदा अत्यन्तै उपद्रो मच्चाउनुभयो । मैले हटाइदिएको छु । अध्यक्षको पद कायमै राखेको छु, वरिष्ठ नेताहरूको पद कायमै राखिदिएको छु । प्रवक्ता भन्ने पद थियो चकचक गर्नुभयो त्यै भएर हटाइएको छ । सचिवालय सदस्य कायमै छ । आफ्नै साथीहरूले गरेको उपद्रो क्षमा गर्न सकिन्छ ,ओलीको भनाई थियो ।
झन्डै दुई तिहाई बहुमत पार्टीले प्राप्त गर्दा पनि आफ्नै दलका नेताहरूले सरकारको आलोचना गर्ने गरेकाले र सरकारका राम्रा कामको प्रसंशा नगरेकाले संसद विघटन गर्नुपरेको ओलीको भनाइ थियो ।
ओलीले संसद मरिसकेको भन्दै त्यो नबैरिने बताए । सर्वोच्च अदालतमा उक्त विषयमाथि बहस भइरहेका बेला ओलीले संसद कुनै हालतमा पनि नब्युँतिने र बैशाख १७ र २७ गते चुनाव भइछाड्ने बताए । संसद विघटन गरेर सरकारले घोषणा गरेको चुनाव कसैले पनि रोक्न नसक्ने उनले बताए ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal