नेपालमा इन्टरनेट प्रयोगकर्ता संख्या बढ्यो !आधाभन्दा बढीले मोबाइलबाटै इन्टरनेट चलाउँछन्

२०७७ पुष २० गते, सोमबार

पुस २०, काठमाडौं । नेपालमा मोबाइल फोनको प्रयोग बढेसँगै इन्टरनेट प्रयोगकर्ता पनि बढेका छन् । टेलिकम कम्पनी तथा इन्टरनेट सेवा प्रदायकहरूका कुल ग्राहक २ करोड ३२ लाख पुग्दा यसमध्य डेढ करोड प्रयोगकर्ता थ्रिजी तथा फोरजी मोबाइल सेवाका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको म्यानेजमेन्ट इन्फरमेसन सिस्टम (एमआईएस) अनुसार १ करोड ६९ लाख मोवाइल प्रयोगकर्ताले इन्टरनेट प्रयोग गर्ने गरेको उल्लेख छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारण भएको लकडाउनले नेपालमा पनि डेटा प्रयोगकर्तामा वृद्धि भएको छ ।
चैतदेखि लकडाउन सुरु भएपछि राजधानी तथा मुख्य सहरमा अनलाइनमार्फत स्कुल तथा कलेजका अध्ययन सुरु भएका थिए । लकडाउनपछि इन्टरनेट पुगेका अन्य क्षेत्रमा पनि अनलाइन कक्षामार्फत अध्ययन अध्ययन सुरु भएको छ । अहिले पनि सरकारले विद्यालय तथा कलेजहरूलाई भौतिक उपस्थितिमा पढाउन अुनमति दिइसककेको छैन । अनलाइन कक्षाका कारण पनि मोबाइल सेट, ल्यापटप तथा इन्टरनेट खरिद गर्ने उपभोक्ताको संख्यामा वृद्धि भएको छ । प्राधिकरणको तथ्यांकअनुसार मासिक २ देखि साढे ३ लाख प्रयोगकर्ता कुनै न कुनै माध्यमबाट इन्टरनेटको सन्जालमा जोडिएका हुन्छन् ।
प्राधिकरणको प्रतिवदेनअनुसार हालसम्म फिक्स्ड ब्रोडब्यान्ड, वाइम्याक्स, ईभिडिओ, थ्रिजी तथा फोरजीमा इन्टरनेटका प्रयोगकर्ता बढी छन् । जसमध्ये सबैभन्दा धेरै थ्रिजीमा १ करोड ११ लाख ९७ हजार, फोरजीमा ५७ लाख ७२ हजार, फाइबर टू दी होमतर्फ ५ लाख ग्राहक छन् । अन्यभन्दा सस्तो दरका कारण नेपाल टेलिकमले दिँदै आएको फाइबर टू दी होम सेवामा ग्राहकको आकर्षण बढेको छ ।
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal