ओलीले अर्को कदम चाल्न सक्छन , दलहरू एकजुट भएर सतर्क हुन जरुरी छ : उपेन्द्र यादव

२०७७ पुष २१ गते, मंगलवार

पुस २१, काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतमा मुद्दा चलिरहेको अवस्थामा कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनको कार्यलाई जायज देखाउनका लागि नेकपाको ओली पक्षले जुनसुकै कदम चाल्न सक्ने भएकोले दलहरु एकजुट हुनु पर्ने बताएका छन ।
एकातिर सर्वोच्च अदालतका प्रमुख प्रधानन्यायाधीशले संवैधानिक परिषद्को बैठकमा सहभागी भएको र अर्कोतर्फ प्रधानमन्त्रीले लगातार संसद् पुनःस्थापना हुनै नसक्ने भनेर दिएका अभिव्यक्तिले गर्दा आफूहरू आन्दोलनमा उत्रिनुपर्ने अवस्था आएको अध्यक्ष यादवले बताए ।
जसपाले मंगलबार आयोजना गरेको सरकारको असंवैधानिक कदम र राजनीतिक संकट विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष यादवले भने, ुसंवैधानिक परिषद्सम्बन्धी अध्यादेश अनुसार बसेको संवैधानिक परिषद्को बैठकमा प्रधानन्यायाधीश सहभागी भएको अवस्थामा संसद् विघटन भयो । त्यसपछि प्रधानमन्त्रीले कसैले पनि संसद् पुनःस्थापना गर्न सक्दैन भनेर दिएका अभिव्यक्तिहरूले चिन्ता थपिएको छ ।ु
संसद् विघटन गर्न संविधानले नदिएको र संवैधानिक व्यवस्थाअनुसार अदालतले पुनःस्थापना गर्न पाउनुपर्ने भनेर अदालतमा परेका रिटमाथिको सुनुवाइ चलिरहेका बेला प्रधानमन्त्री ओलीबाट आएका अभिव्यक्तिले चिन्ता थपेको यादवको भनाइ थियो ।
उनले संविधानको धारा ७६ अनुसार कुनै पनि हालतमा अहिलेका प्रधानमन्त्रीले संसद् विघटन गर्न पाउने अधिकार नभएको उनले बताए । राष्ट्रपतिले वर्तमान सरकारले गरेको संसद् विघटनको सिफारिस स्वीकार गर्नु पनि असंवैधनिक भएको बताए ।
संसद् ज्युँदै भएकाले सभामुख अग्निप्रसाद सापकोटाले विशेष अधिकार प्रयोग गर्नुपर्ने, संसदीय सर्वोच्चताको मान्यतालाई सुदृढ गर्न कदम चाल्नुपर्ने यादवको सुझाव थियो ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal