भारतमा बर्ड फ्लू, दक्षिणी नाकामा कडाइ

२०७७ पुष २३ गते, बिहीबार

पुस २३, काठमाडौं । करीब १ सातादेखि भारतमा देखिएको बर्ड फ्लू रोगका कारण भारतको विभिन्न राज्यमा हाँस तथा चराहरू मर्न थालेपछि नेपालले सुरक्षा सतर्कताका लागि दक्षिणी नाकामा कडाइ गर्ने भएको छ । नेपालमा बर्ड फ्लू फैलिन नदिनका लागि नाकामा कडाइ गर्ने तयारी भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयले भारतसँग सिमाना जोडिएका तराईका जिल्लाहरूमा सुरक्षा सर्तकता अपनाउन जिल्ला पशु कार्यालयलगायत सम्बद्ध निकायमा खबर गरिसकेको मन्त्रालयका प्रवक्ता डा। श्रीराम घिमिरेले जानकारी दिए । उनका अनुसार मन्त्रालयले जिल्ला तथा स्थानीय निकायहरूलाई सुरक्षा व्यवस्थाका लागि आवश्यक पर्ने थप जनशक्ति तथा मेशिनरी सामग्रीहरू चाहिएमा पनि जानकारी गराउन निर्देशन दिइसकेको छ ।

नेपालमा बर्ड फ्लूको संक्रमण आउन नदिन तथा आइहालेमा रोकथामका प्रक्रिया अघि बढाउने बारेमा योजना बनाउन पशुसेवा विभागले समेत तयारी थालेको बताइएको छ । पशुसेवा विभागका सूचना अधिकारी डा। चन्द्र ढकालका अनुसार बिहीवार विभागले नेपालमा बर्ड फ्लू भित्रिन नदिने उपाय अवलम्बन गर्न छलफल थाल्ने भएको छ ।यो समाचार आजको आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal