अमेरीकामा फैलाएको हिंसामा मर्नेको संख्या ४ पुग्यो, संसद भवनभित्र बम फेला

पुस २३, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार वासिङ्टनस्थित संसद भवनमा फैलाएको हिंसामा परी मृत्यु हुनेको संख्या चार पुगेको छ । हिंसामा दुई महिला र दुई पुरूषको मृत्यु भएको बीबीसेले जनाएको छ ।
अहिलेसम्म सुरक्षाकर्मीले ५२ जनालाई पक्राउ गरेका छन् । अधिकारीहरूले संसद भवनभित्र दुई वटा पाइप बम पनि फेला परेको जनाएका छन् । वासिङ्टन डिसीका मेयर मुरियल बोउजरले नगरमा १५ दिनका लागि कर्फ्यू लगाएका छन् ।
गएको नोभेम्बर ३ मा भएको चुनावमा राष्ट्रपतिमा विजयी भएका जो बाइडेन (डेमोक्र्याट) तथा उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसको इलेक्टोलर कलेज मतलाई आधिकारिकता प्रदान गर्न सदनको संयुक्त बैठक बसिरहेका बेला ट्रम्प समर्थक सुरक्षा बार तोड्दै भवनभित्र पसेका थिए ।
ट्रम्पले बिना प्रमाण चुनावमा धाँधली गरेर आफूबाट नतिजा खोसिएका कारण बुधबारको घटना भएको बताएका छन् ।
संसद्मा देखिएको हङ्गामापछि अमेरिकाका पूर्वराष्ट्रपतिहरू जर्ज डब्लु बुस तथा विल क्लिन्टनले आलोचना गरेका छन् ।