फेरि बर्डफ्लुको त्रास, पोल्ट्री र पोल्ट्रीजन्य वस्तु आयातमा रोक

२०७७ पुष २५ गते, शनिबार

पुस २५, काठमाडौं । भारतका विभिन्न प्रान्तमा बर्डफ्लु प्रकोप देखिएपछि नेपालमा सम्भावित जोखिम आकलन गरी सरकारले सतर्कता अपनाउन थालेको छ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गतको विभागले ८ पशु क्वारेन्टाइन कार्यालय र २४ पशु क्वारेन्टाइन चेक पोस्टलाई पत्राचार गरी सीमा क्षेत्रबाट पोल्ट्री र पोल्ट्रीजन्य पदार्थ तत्काल रोक्न भनेको हो।

पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ दफा ११ को अधिकार प्रयोग गरी शंकास्पद र जोखिम मानिएका पदार्थ, कुखुराको मासु र मासुजन्य पदार्थमा रोक लगाउन निर्देशन दिइएको मन्त्रालयका प्रवक्ता डा श्रीराम घिमिरेले बताए।

काँकडभिट्टा, विराटनगर, जनकपुर, वीरगन्ज, काठमाडौं, भैरहवा, नेपालगन्ज र कञ्चनपुरको गड्डाचौकी क्वारेन्टाइन कार्यालय र उक्त कार्यालयमातहतका २४ चेक पोस्टलाई निगरानी बढाउन भनिएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिक मा प्रकाशित छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal