‘थ्रेट’ भन्दै प्रधानमन्त्रीको सुरक्षा बढाइयो, राष्ट्रपतिलाई निवास बाहिर नजान सुरक्षा अधिकारीहरुको सुझाव

२०७७ पुष २५ गते, शनिबार

पुस २५, काठमाडौं । प्रतिनिधिसभा विघटन गरेर निर्वाचनको घोषणा भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षा बढाइएको छ ।
राष्ट्रपति र प्रधानमन्त्रीमाथि सुरक्षा चुनौती थपिएको भन्दै सुरक्षामा खटिने सुरक्षाकर्मीको संख्या बढाएको हो ।
यसअघि नेपाली सेनाका कर्णेलको नेतृत्वमा प्रधानमन्त्री ओलीको सुरक्षामा ५० जना भन्दा बढी नेपाली सेनासहितको टोली परिचालित हुने गरेको थियो ।
तर पछिल्लो राजनीतिक घटना क्रमसँगै प्रधानमन्त्री ओली विभिन्न सार्वजनिक कार्यक्रम सहभागी हुन थालेपछि भैरबनाथ गणबाट थप २५ जना प्रधानमन्त्रीको सुरक्षामा खटिएका छन् ।
ओली जाने कार्यक्रममा हुनसक्ने सम्भावित विरोधलाई लक्षित गरेर कालो कपडा, मास्क वा विरोध जनाउन सक्ने हरेक चिजलाई निषेध गर्ने नीति प्रहरीले लिएको छ । विभिन्न कार्यक्रममा कालो मास्क लगाउने व्यक्ति पनि निकालिएका छन् । सरकार विरोधी नारा लगाउने व्यक्तिलाई समेत प्रहरी निगरानीमा राख्न थालेको छ ।
ओलीको कदमलाई गैरसंवैधानिक भन्दै पार्टीभित्रै र बाहिरबाट आलोचना भइरहेका बेला आगामी दिन ढुंगामुढासमेत गरिन सक्ने विश्लेषण सुरक्षा निकायको छ ।
,यस्तै अदालतमा विचाराधिन रहेको प्रतिनिधिसभा विघटनको मुद्दा किनारा नलागेसम्म राष्ट्रपति भण्डारीलाई शितल निवास बाहिर नजान सुरक्षा अधिकारीहरुले सुझाव दिएको बताइएको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal