सवारी कर्जा सहज भएसँगै बढ्यो गाडीको जाँचपास

२०७७ पुष २८ गते, मंगलवार

पुस २८, वीरगञ्ज । बैंकहरूले सवारी कर्जाको ब्याजदर घटाएपछि भन्सारबाट नयाँ सवारीसाधन छुटाउने क्रम बढेको छ । गाडी आयात हुने मुख्य नाका वीरगञ्जबाट नयाँ सवारीसाधनको जाँचपास बढ्न थालेको हो ।
विगतमा आयातकर्ताले नाकामा आइपुगेका गाडी लामो समयसम्म भन्सार परिसरमै थन्क्याउने गरेकोमा केही समययता जाँचपासमा सुधार आएको भन्सारले बताएको छ । वीरगञ्ज एकीकृत जाँच चौकी ९आईसीपी० सञ्चालक नेपाल इन्टरमोडल यातायात विकास समिति ९एनआईटीडीबी० का अनुसार आईसीपीमा सोमवारसम्म जाँचपास हुन बाँकी गाडीको संख्या १८७ छ ।
केही महीना अघिसम्म यो संख्या २५० देखि ३०० को हाराहारीमा हुने गरेकोमा अहिले भन्सारबाट गाडी छुटाउनेक्रम बढेको एनआईटीडीबीका प्रमुख कमल ज्ञवालीले बताए । विगतमा भन्सारले गाडी छुटाउन सूचना गर्दासमेत आयातकर्ताले अटेर गर्दै आएका थिए ।
अहिले आयातकर्ताले धमाधम गाडी जाँचपास गराएको भन्सारले बताएको छ । आईसीपी भन्सारका सूचना अधिकृत सुमित गुप्ताले पछिल्लो समय भन्सारबाट नयाँ सवारीसाधन छुटाउने क्रम बढेको बताए ।
‘केही समययता भन्सारबाट सवारीसाधन जाँचपास बढेको छ । नाकामा ल्याइएका सवारीसाधन आयातकर्ताले चाँडै छुटाउन थालेका छन्,’ सूचना अधिकृत गुप्ताले आर्थिक अभियानसँग भने ।
भन्सार ऐनमा भन्सारमा हातामा प्रवेश गराइएका गाडी ६० दिनभित्र जाँचपास भइसक्नुपर्ने प्रावधान छ ।
तोकिएको समयभित्र जाँचपास नभएको मालसामान भन्सारले लीलाम गर्न सक्ने व्यवस्था छ ।
वीरगञ्ज सुक्खा बन्दरगाहमा १०८ ओटा गाडी जाँचपास हुन बाँकी रहेको पनि ज्ञवालीले जानकारी दिए । सरकारले महँगो मुख्यका गाडी आयातलाई निरुत्साहित गरे पनि लगानीयोग्य पूँजीको चाप बढेसँगै बैंकहरूले सवारी कर्जाको ब्याजदर घटाएका छन् ।
कोरोना महामारीका कारण उद्योग र व्यापार क्षेत्रमा ऋणको माग घटेपछि बैंकले सवारी कर्जालाई लगानीको सहज क्षेत्रका रूपमा उपयोग गरिरहेको वाणिज्य बैंकका एक प्रबन्धकले बताए ।
कोरोना महामारी नियन्त्रणका लागि लगाइएको बन्दाबन्दीको समयमा गाडीको आयात र जाँचपास स्वात्तै घटेको थियो । गत असोजको पहिलो सातादेखि बजार खुल्न थालेसँगै गाडी छुटाउने क्रम बढेको हो । गाडी जाँचपास बढे पनि आयात भने तुलनात्मक घटेको भन्सारले बताएको छ ।
वीरगञ्ज भन्सारका अनुसार चालू आर्थिक वर्ष २०७७र७८ को साउनदेखि मङ्सिर महीनासम्ममा २ हजार ५७८ ओटा जीपकार भ्यान भित्रिएका छन् । अघिल्लो आर्थिक वर्षको समीक्षा अवधिमा यो संख्या ४ हजार २५१ थियो ।
बैंकहरूले गाडी कर्जामा जोड दिन थालेकाले भन्सारबाट गाडी छुटाउने क्रम बढेको हो । यसअघि १२ प्रतिशतसम्म रहेको गाडी कर्जाको ब्याजदर अहिले ८ देखि साढे ८ प्रतिशतमा झरिसकेको बैंकहरूले बताएका छन् । यस्तो कर्जामा मूल्यको ५० प्रतिशत रकम लगानी गरिने भएकाले बैंकले गाडी कर्जालाई सुरक्षित र सहज लगानी मानेका छन् । यो समाचार आजको आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal