पुस महीनाको अन्तिम दिन बजार १८.८१ अंक बढेर बन्द, सेन्सेटिभ इन्डेक्स ४३५.२५ विन्दुमा

२०७७ पुष २९ गते, बुधबार

पुस २९, काठमाडौं । पुस महीनाको अन्तिम कारोबार दिन बुधवार शेयर बजार १८ दशमलव ८१ अंक माथि उक्लिएको छ । यस दिन २ हजार २८६ दशमलव ५४ विन्दुमा बजार बन्द भएको हो ।
२ हजार २७९ दशमलव शून्य ४ विन्दुदेखि खुलेको बजार यो दिन २ हजार २९६ विन्दुसम्म पुगेको थियो । यो दिन ठूला कम्पनीहरुको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ९७ अंक बढेर ४३५ दशमलव २५ विन्दुमा पुगेको छ ।
बुधवार परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ । मंगलवार रू। ४ अर्ब ९८ करोड २३ लाख ९१ हजार बराबरको १ करोड ३५ लाख ३१ हजार २२७ कित्ता शेयर कारोबार भएकोमा बुधवार रू। ५ अर्ब ९१ करोड ४३ लाख ८९ हजार बराबरको १ करोड ३२ लाख ८९ हजार ८४९ कित्ता शेयर कारोबार भएको हो ।
बुधवार नेपाल दुरसञ्चार कम्पनी पछि नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक रकमको शेयर कारोबार भएको छ । उक्त कम्पनीको रू। २० करोड ७२ लाख ५५ हजार बराबरको शेयर कारोबार भएको हो । यस कम्पनीको शेयरमूल्य पनि प्रतिकित्ता रू। १५ ले बढेर अन्तिम मूल्य रू। १ हजार ५५१ कायम भएको छ । यस दिन १० ओटा कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । कर्पोरेट डेभलपमेण्ट बैंकको शेयरमूल्य १० प्रतिशतले र अन्यको ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

दोहोरो अंकले बढेको बजारमा ४६ ओटा कम्पनीको शेयरमूल्य घटेको छ । यी मध्य मल्टिपर्पस फिनान्सको शेयरमूल्य सर्वाधिक ४ दशमलव ७१ प्रतिशतले घटेर अन्तिम मूल्य रू। १६२ कायम भएको छ ।
बुधवार होटल समूहको शून्य दशमलव २८ प्रतिशत र बैंकिङ समूहको शून्य दशमलव १८ प्रतिशत परिसूचक घटेको छ । यस दिन वित्त समूह र उत्पादन तथा प्रशोधन समूहका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् ।
वित्त समूहको परिसूचक ४ दशमलव ७५ प्रतिशत र उत्पादन तथा प्रशोधन समूहको ४ दशमलव २३ प्रतिशत बढेको हो । त्यस्तै यो दिन लघुवित्तको २ दशमलव ७४ प्रतिशत, जलविद्युतको १ दशमलव ७२ प्रतिशत, विकास बैंकको १ दशमलव ३१ प्रतिशत , जीवन बीमाको १ दशमलव १७ प्रतिशत, निर्जीवन बीमाको १ दशमलव शून्य ५ प्रतिशत, अन्यको शून्य दशमलव ६८ प्रतिशत, म्युचुअल फण्डको शून्य दशमलव ५८ प्रतिशत र व्यापारिकको शून्य दशमलव ३६ प्रतिशत परिसूचक बढेको हो ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal