थारु समुदायमा माघी पर्वको रौनक, कोरोनाका कारण हल्का प्रभावित, नाचगान भएन

२०७७ माघ १ गते, बिहीबार

माघ १, काठमाडौं । आज माघे सङ्क्रान्ति ,पश्चिम नेपालको लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पर्ने दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेतमा बसोबास गर्ने थारु समुदायमा माघी पर्वको रौनक छ । थारु समुदायले माघीलाई विशेष पर्वका रुपमा मनाउने गर्छन् । माघ लहाइली, सुरीक सिकार खाइली रे हाँ, सखिया हो, माघक पिली, गुरी गुरी जाँड” यस्तै खालका माघी पर्व विशेष मघौटा, हुरदंगवा, सखिया, गीत गाउँदै नाचगान गर्दै माघे सङ्क्रान्तिको अघिल्लो दिन जिता मार्ने, मिठा परिकार खाने र माघी नुहाउने चलन छ ।

आजको दिनलाई थारु समुदायले नयाँ वर्षको रुपमा विशेष महत्त्वकासाथ पनि मनाउने गर्छन् । तर यो वर्ष कोरोना महामारी कारण मेला महोत्सव गर्न दिइएको छैन । त्यसैले गर्दा पनि बर्दियाको ठाकुरद्वारासहित विभिन्न ठाउँमा लाग्ने परम्परागत माघी मेला पनि यस वर्ष प्रभावित भएको छ ।
पश्चिम नेपालका दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेतसँगै नजिकैको छिमेकी देश भारतबाट समेत ठाकुरद्वारा मन्दिरको दर्शन गर्न र मेला भर्न हजारा भक्तजन आउने गर्छन् ।

माघी पर्वसँगै थारु जातीमा खेतबारी अधियाबटैँया लगाउने, गाउँको बडघर, चौकीदार, गुरुवा, ल्वाहार राख्न खुजनी बुजनी ९पक्कापक्की० गर्ने परम्परागत चलन पनि कायमै छ ।
माघी पर्वकै अवसरमा ठाकुरद्वाराको परम्परागत माघी मेलामा दैलेख, कालीकोट, मुगु, जुम्लालगायतका पहाडी जिल्लाबाट बसाइँ सरेर बर्दियामा बसोबास गर्ने महिला पुरुषले पहाडी क्षेत्रको मेलामा गाइने देउडा गीत गाएर माघी मेलालाई रमाइलो बनाउने गर्थे । तर कोरोनाका कारण यस वर्ष त्यस्तो रमाइलो नभएको दाङका थारुहरुले सिएनएनलाइ बताए ।

पहिले माघी आउनु केही दिन अघिदेखि नै गाउँघरमा मादल बजाएर मघौटा र सखिया नाच गरिन्थ्यो । पहिले पुर्खाले कला संस्कृति देखाएर माघी मनाउने गर्थे । यस्तो संस्कृति हिजोआज हराउँदै गएको त थियो नै, यसवर्ष कोरोना महामारीका कारण माघी पर्वको अवसरमा हुने नाचगान, मेला, महोत्सव पनि प्रभावित भएको हो।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal