असहायलाई न्यानो कपडा र मिठाई दिएर माघे संक्रान्ति मनाईयो

२०७७ माघ २ गते, शुक्रबार

माघ २, काठमाडौं । माघी अर्थात माघे संक्रान्तिका अवसरमा बिहीबार यहाँ विविध कार्यक्रम गरिएको छ । कसैले घर परिवारमै त कसैले सार्वजनिक कार्यक्रम गरेर माघे संक्रान्ति पर्व मनाएका छन् ।
यसैक्रममा नेपाल अग्रवाल सभा राजविराजले बिरामीहरुलाई फलफुल तथा असहाय, अपाङ्ग, बृद्धबृद्धा, साधुसन्त लगायतलाई मिष्ठान भोजन, न्यानो कपडा र मास्क बितरण गरेर माघे संक्रान्ति पर्व मनाएका छन् ।
अग्रवाल सभामा आवद्ध पदाधिकारी तथा यूवाहरुले करिब ५ सय जना असहायलाई मिष्ठान भोजनसहित न्यानो कपडा र मास्क बितरण गरेका हुन् ।
मानव सेवा नै इश्वरको सेवा हो भन्ने सन्देशसहित असहायलाई मिष्ठान भोजन गराएर न्यानो लुगा, मास्क र दक्षिणा समेत बितरण गरिएको नेपाल अग्रवाल सभाका अध्यक्ष मनोज कुमार अग्रवालले बताए ।
सभाकै अगुवाईमा स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालका बिरामीहरुलाई फलफुल तथा न्यानो लुगा समेत बितरण गरिएको छ । बितरण कार्यक्रममा सभाका निवर्तमान अध्यक्ष धनश्याम बजाज, कोषाध्यक्ष सुरेश अग्रवाल, लालु अग्रवाल, सुरेश रुङटा लगायत सहभागि थिए ।
यस्तै बिहीबारै हिन्दु स्वमसेवक संघ नेपाल सप्तरीले भारदहमा मकर संक्रान्ति उत्सव मनाएको छ । संघका संघचालक भोगेन्द्र झा, संगठनमन्त्री गोपाल जी, विश्व हिन्दु परिषद नेपाल सत्संग विभाग सगरमाथा संम्भागका सहसंयोजक जगबहादुर सिंहका साथै संघ र परिषद्का पदाधिकारीहरुको उल्लेखीय उपस्थिपिमा सुरु भएको उत्सवमा हिन्दु धर्ममा माघे संक्रान्तिको महत्व बारे प्रवचनका साथै सहभागि दुई सय भन्दा बढीलाई तिल, मुरही, लडु, तरुल, चाकु र खिचडी लगायतका मिष्ठान भोजन गराइएको छ ।
हिन्दु स्वंमसेवक संघ, विश्व हिन्दु परिषद् तथा नेपाल अग्रवाल सभाले प्रत्येक वर्ष माघे संक्रान्तिको अवसर पारेर असहाय, अपाङ, बृद्धबृद्धा, साधुसन्त लगायतलाई मिष्ठान भोजनसहित विभिन्न सामाग्रि सहयोग गरेर माघे संक्रान्ति पर्व मनाउँदै आएका छन् । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal