तानातानमा कांग्रेस, अझै पर्ख र हेरको मुडमा देउवा

२०७७ माघ २ गते, शुक्रबार

माघ २, काठमाडौं । नेकपाका दुवै समूहले सत्ता, सडक र निर्वाचनसम्ममा सहकार्य गर्न प्रस्ताव राख्दै आए पनि काँग्रेस सभापति शेरबहादुर देउवाले अझै केही समय पर्ख र हेर कै अवस्थामा पार्टीलाई राख्ने मनस्थिति बनाएका छन् ।

औपचारिकरुपमा विभाजन नभएसम्म नेकपाको एउटा नेतृत्वलाई विस्थापित गरेर अर्को नेतृत्वलाई स्थापित गर्ने एजेन्डामा काँग्रेस सहयोगी हुन नमिल्ने देउवाको भनाइ छ ।
निर्वाचन वा प्रतिनिधिसभा पुनःस्थापना जुन मोर्चामा काँग्रेस उभिन्छ, त्यसैको पक्षमा पल्लाभारी हुन सक्ने बुझाइ नेकपाका दुवै समूहका नेताहरुमा छ । नेकपाको विभाजनले केन्द्रमा मात्रै नभइ प्रदेश सरकारमा पनि काँग्रेस निर्णायक देखिएको छ ।
प्रदेश १ र वाग्मतीमा नेकपाको पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहले केपी शर्मा ओली पक्षीय मुख्यमन्त्री क्रमशः शेरधन राई र डोरमणि पौडेललाई हटाउन अविश्वासको प्रस्ताव दर्ता गराइसकेको छ ।
ओली पक्षकै मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ र लुम्बिनीका शंकर पोखरेल नेतृत्वको सरकार पनि धरमरमा छ । एक दुई सांसद मात्रै तलमाथि रहेका यी प्रदेशमा दाहाल–नेपाल पक्षले काँग्रेसको निर्णय पर्खेको छ ।
प्रदेश १ मा माघ ७ गतेका लागि प्रदेशसभाको बैठक आह्वान भइसकेको छ । दुवै प्रदेशमा सरकार जोगाउन ओली र परिवर्तन गर्न दाहाल–नेपाल समूहले नै कांग्रेसकै साथ खोजिरहेका छन् ।कांग्रेस नेता रामशरण महतले औपचारिक रूपमा नेकपा विभाजन भइनसकेकाले प्रदेशमा पनि कुन पक्षलाई सहयोग गर्ने भन्नेबारे पार्टीको एउटै नीति बन्न नसक्ने बताए । ‘पार्टी विभाजन भएको भए यो दलसँग मिलेर सरकार बनाउने भन्ने हुन्थ्यो ।
त्यस्तै स्थिति अहिले छैन,’ उनले भने, ‘स्थानीय अवस्था र पार्टीको हितलाई केन्द्रमा राखेर निर्णय लिन्छौं ।’ सहमहामन्त्री प्रकाशशरण महतको धारणा पनि त्यस्तै छ । ‘नेकपाका दुवै समूह उस्तै हुन्, मुख्य कुरा पार्टीको हित र स्थानीय आवश्यकतालाई हेर्ने हो,’ उनले भने, ‘त्यही आधारमा छलफल हुन्छ, समय आएपछि पार्टीले निर्णय लिन्छ । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal