नेकपाको विधानै दुई थरी : कुन विधानको आधारमा छिनोफानो गर्ने भन्ने रस्साकसी

२०७७ माघ ४ गते, आईतवार

माघ ४, काठमाडौं । अहिले निर्वाचन आयोगले पत्राचार गर्दा एक थरी र नेकपाका दुई समूहले आयोगमा पत्राचार गर्दा अर्को थरी विधान प्रयोग गरिएको देखिन्छ । आयोग र दलका दुई पक्षले प्रयोग गरेका विधानका धारा मेल खाँदैनन् । आयोगमा रहेको नेकपाको फाइलमा महासचिव विष्णु पौडेलको हस्ताक्षर रहेको अन्तरिम विधान छ ।

दलले भने पुस्तकका रूपमा प्रकाशन गरेको अन्तरिम विधान प्रयोग गरिरहेको छ । आयोगमा रहेको विधान नै पुस्तकका रूपमा छापिएको बताइए पनि कतिपय महत्त्वपूर्ण विषयमै भिन्नता छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओली पक्षले आयोगले प्रयोग गरेको विधानमाथि प्रश्न उठाएको छ ।

उक्त पक्षले बुधबार आयोगलाई पठाएको पत्रमा विधानको आधिकारिताको विषय उल्लेख छ, जसमा भनिएको छ– आयोगले पत्रमा उल्लेख गरेको विधानको व्यवस्था र पार्टीको विद्यमान विधानका व्यवस्था फरक छन् । ओली पक्षले पार्टीको आधिकारिक विधानका आधारमा आयोगले पत्राचार गर्नुपर्नेतर्फ ध्यानाकर्षणसमेत गराएको छ ।

आयोगले भने एकीकरणका बेला पार्टीका तर्फबाट बुझाइएको विधानकै धारा प्रयोग गरेर पत्राचार गरिएको जनाएको छ । ओली वा दाहाल–नेपाल दुवै पक्षले पछिल्लो समय अलग अलग ढंगले आयोगमा गरेको पत्राचारमा उल्लिखित विधानको धारा र त्यसमा लेखिएको विषय आयोगमा रहेको विधानको त्यही धारासँग मेल खाएको छैन ।

जस्तो कि, दाहाल–नेपाल पक्षले ओलीलाई विधानको धारा ५६ (क) अनुसार अनुशासनको कारबाही गरिएको जानकारी आयोगलाई दिएको छ तर आयोगमा रहेको विधानको धारा ५६ मा अनुशासन कारबाहीको विषय नै छैन । त्यहाँ संसद् र स्थानीय तह संयन्त्रबारे उल्लेख छ । आयोगमा रहेको विधानको धारा ६१ मा अनुशासनको कारबाहीसम्बन्धी विषय छ ।

आयोगले नेकपाका दुवै पक्षलाई गतसाता गरेको पत्राचारमा अनुशासनको कारबाहीसम्बन्धी धारा ६१ (क) उल्लेख गरिएको छ । नेकपाका दुवै पक्षले प्रयोग गरेको विधान किताबका रूपमा प्रकाशित छ । त्यसमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अन्तरिम विधान २०७५ लेखिएको छ ।

कोष्ठकमा २०७५ जेठ ३ गते केन्द्रीय कमिटीको प्रथम बैठकबाट पारित भनिएको छ । त्यसमा ७३ वटा धारा छन् । आयोगमा रहेको विधानमा ७८ वटा धारा छन् । किताबका रूपमा छापिएका विधान बाँडिएकाले त्यो कार्यकर्तासम्म उपलब्ध छ । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

2022 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal