देशका धेरै ठाउँमा मौसम बद्ली : तराईमा बाक्लो हुस्सु र कुहिरो

२०७७ माघ ४ गते, आईतवार

माघ ४, काठमाडौं । देशका धेरै ठाउँमा मौसम बद्ली भएको छ । तराईमा शीतलहरको जोखिम बढ्दै गएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । झण्डै एक हप्तादेखि तराईका जिल्लाहरुमा बाक्लो हुस्सु र कुहिरो लागेको र शीतलहरको सम्भावना देखिएको मौसमविद्ले बताएका छन् । हुस्सु र कुहिरो निरन्तर रहेमा शीतलहरको सम्भावना बढ्ने मौसमविद्को भनाइ छ ।

अहिले प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बादल लागेको छ भने तराईमा हुस्सु तथा कुहिरो लागेको छ । उत्तरी बङ्गलादेश र आसपासमा बनेको न्यूनचापीय प्रणालीको सामान्य प्रभावका कारण मौसम बद्ली भएको मौसमविद्को भनाइ छ ।

आज बेलुकी पनि पूर्वका पहाडी क्षेत्रमा बद्ली हुने र भोलि बेलुकीपख केही ठाउँमा सामान्य वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानूमान् महाशाखाले जनाएको छ । यसैबीच आज बिहान काठमाण्डौको न्यूनतम तापक्रम आठ दशमलव आठ डिग्री सेल्सियस मापन गरिएको छ । राति बादल लागेकोले न्यूनतम तापक्रम बढेको मौसम पूर्वानूमाान् महाशाखाले जनाएको छ ।

काठमाण्डौमा आज अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियस हुने अनुमान गरिएको छ । अहिले सामान्य बद्ली रहेको काठमाण्डौ उपत्यकामा दिउँसो घाम लाग्ने मौसम पूर्वानूमाान् महाशाखाले जनाएको छ ।

2022 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal