त्रिविको बेथिति, तलवमा मात्र वार्षिक ४ अर्ब बढी खर्च

२०७७ माघ ५ गते, सोमबार

माघ ५, काठमाडौं । त्रिभुवन विश्वविद्यालय र मातहतका क्याम्पस तथा निकायहरुमा अध्यापनरत कर्मचारीहरुको तलवमा मात्रै वार्षिक अनुमानित चार अर्ब रुपैयाँ खर्च हुने गरेको पाइएको छ ।

त्रिवि मातहत रहेका प्राध्यापक, सहप्राध्यापक, उपप्राध्यापक, सहायक प्राध्यापक,शिक्षण सहायक लगायतका लागि मात्रै वार्षिक अनुमानीत तीन अर्ब ८७ करोड १६ लाख ७० हजार सात सय ६० रुपैयाँ तलव स्केलमा खर्च हुने गरेको छ । यसरी हेर्दा त्रिविमा अध्यापन गर्नेहरुको मासिक तलवमा अनुमानित ३२ करोड २६ लाख ३९ हजार दुई सय ३० रुपैयाँ खर्च हुने गरेको देखिएको त्रिवि आर्थिक प्रशासन महाशाखाले उपलब्ध गराएको विवरणमा उल्लेख छ ।

त्रिविको २०७६ साउन १ गतेदेखि लागु भएको तलबमान अनुसार प्राध्यापकका लागि वार्षिक ४१ करोड २१ लाख ३८ हजार पाँच सय ६० रुपैयाँ खर्च हुने गरेको छ । यस्तै, सहप्राध्यापकका लागि वार्षिक एक अर्ब २५ करोड ४२ लाख ४३ हजार तीन सय ६० रुपैयाँ खर्च हुने गरेको छ । त्रिवि आर्थिक प्रशासन महाशाखाका अनुसार उपप्राध्यापकका लागि तलवमा मात्रै वार्षिक एक अर्ब ४८ करोड २७ लाख ५३ हजार ६ सय रुपैयाँ खर्च हुने गरेको छ ।

यस्तै, सहायक प्राध्यापकका लागि वार्षिक १७ लाख २७ हजार पाँच सय २० रुपैयाँ तलवमा खर्च हुने गरेको देखिएको छ । त्रिविमा प्राध्यापक वा सो सरह पदमा कार्यरतको तलव स्केल मासिक ६० हजार ६ सय ८० निर्धारण गरीएको छ । त्रिविमा शिक्षण सहायकका रुपमा कार्यरतहरुले मासिक ३५ हजार नौ सय ९० रुपैयाँ बुझ्ने गरेका छन् । शिक्षण सहायकमा कार्यरतहरुको लागि वार्षिक ७२ करोड आठ लाख सात हजार सात सय २० रुपैयाँ तलव स्केलमा खर्च हुने गरेको छ ।

यस्तै, सहप्राध्यापकको ४७ हजार तीन सय ८०, उपप्राध्यापकको ४० हजार तीन सय ८०, सहायक प्राध्यापकको ३५ हजार नौ सय ९० कायम गरीएको छ । हाल त्रिविमातहत पाँच सय ६६ प्राध्यापक, दुई हजार दुई सय ६ सहप्राध्यापक, तीन हजार ६० उपप्राध्यापक, सहायक प्राध्यापक चार र शिक्षण सहायक एक हजार ६ सय ६९ जना कार्यरत छन् । हाल त्रिवि अन्तर्गत् ६२ आंगिक र एक हजार ६२ सम्वन्धन प्राप्त क्याम्पस रहेका छन् ।

यस्तै, त्रीभुवन विश्वविद्यालयका उपकुलपतिले तलब स्केल बापत मासिक ७१ हजार नौ सय ८० रुपैयाँ बुझ्दै आएका छन् । हाल त्रिविको उपकुलपतिमा प्रा।डा।धर्मकान्त बाँस्कोटा रहेका छन् ।
यस्तै, तलव स्केल बापत शिक्षाध्यक्षले मासिक ७० हजार एक सय, रजीष्ट्रारले ६९ हजार आठ सय ५०, त्रिवि सेवा आयोग सदस्यले ६९ हजार सात सय ४०, डीन कार्यकारी निर्देशक र परीक्षा नियन्त्रकले ६८ हजार सात सय ४० रुपैयाँ बुझ्दै आएको त्रिवि आर्थिक प्रशासन महाशाखाले उपलब्ध गराएको विवरणमा उल्लेख छ ।

हाल त्रिविमा सात हजार नौ सय ६६ जना शिक्षकका रुपमा कार्यरत रहेका छन् भने सात हजार दुई सय ३० जना कर्मचारीका रुपमा कार्यरत रहेका छन् । त्रिविमा शिक्षकहरुको तलवमा वार्षिक करोडौ खर्च भएपनि केहि शिक्षकहरुले विद्यार्थीमैत्री व्यवहार नगरेको, अध्यापनमा पर्याप्त समय नदिएको गुनासो आउने गरेको छ । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal