भ्लादिमिर पुटिनका कट्टर आलोचक नभाल्नी पक्राउप्रति बाइडेनको निन्दा

२०७७ माघ ५ गते, सोमबार

माघ ५, काठमाडौं । रुसका विपक्षी नेता नभाल्नीलाई पक्राउ गरेकोमा अमेरिकाका नव-निर्वाचित राष्ट्रपति बाइडेनले निन्दा गरेका छन ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक एवम् विपक्षी नेता एलेक्सी नभाल्नीलाई प्रहरीले पक्राउ गरेको छ । जर्मनीमा उपचारपछि स्वदेश फर्केका ४४ वर्षका नभाल्नीलाई मस्को पुग्नासाथ प्रहरीले पक्राउ गरेको बीबीसीले जनाएको छ ।

अमेरिकाको राष्ट्रपति निर्वाचित जो बाइडेनको टोलीले नभाल्नीलाई तत्काल रिहा गर्न माग गरेको छ । बाइडेनले राष्ट्रिय सुरक्षा सल्लाहकारमा मनोनित गरेका जेक सुलिभान, युरोपेली परिषद्का अध्यक्ष चाल्र्स मिसेललगायतले नभाल्नीको पक्राउलाई ‘अस्वीकार्य’ भनेका छन् ।

गएको अगस्टमा मस्को जाँदै गर्दा नभाल्नी विमानभित्रै बेहोस भएपछि उपचारका लागि जर्मनी लगिएको थियो । फ्रान्सेली र स्विडिस प्रयोगशालामा गरिएको परीक्षणमा नभाल्नीलाई बेहोस बनाउने सोभियतकालीन रसायन ‘नोभिचोक’ विष खानामा मिसाएर खुवाइएको पाइएको जर्मनीले बताउँदै आएको छ ।

2022 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal