शेयर बजारमा सवा ३ लाख नाबालक लगानीकर्ता, आवेदन दिने क्रम बढ्दो

२०७७ माघ ६ गते, मंगलवार

माघ ६, काठमाडौं । गत साता एक वाणिज्य बैंकमा महिना दिनको बच्चाको नाममा ‘डिम्याट’ खाता खोल्न आएका एक अभिभावक भेटिए । प्राथमिक बजारमा सेयरमा आवेदन दिनकै लागि उनले नाबालक छोराका नाममा खाता खोल्दै थिए । मापदण्ड पुगेका सबै आवेदकलाई न्यूनतम १० कित्ता सेयर वितरण गर्नुपर्ने व्यवस्था छ । त्यसैले बच्चाका नाममा डिम्याट खाता खोल्न आएको ती अभिभावकको भनाइ छ ।

यो त उदाहरण मात्र हो । बच्चा जम्मेको केही दिनमै धेरै अभिभावक डिम्याट खाता खोल्न आउने जानकारहरू बताउँछन् । सेयर पर्ने निश्चित भएकाले धेरै सेयर प्राप्त गर्ने उद्देश्यले बच्चा जन्मिनासाथ खाता खोल्न आउने क्रम बढेको उनीहरूको तर्क छ । नाबालकको नामामा खाता खोल्न पाइने कानुनी व्यवस्था नै छ । बच्चा १८ वर्ष नपुग्दासम्म अभिभावकको संरक्षकत्वमा बैंक खाता र डिम्याट खाता खोल्न पाइन्छ ।

खातावाला बालक १८ वर्ष पुगेपछि उसैले खाता पूर्ण रूपमा सञ्चालन गर्न पाउँछ । कागजी अवस्थामा रहेको भौतिक धितोपत्रलाई विद्युतीय प्रणालीमा अभिलेख राखिने खातालाई डिम्याट भनिन्छ । हाल दोस्रो बजारमा भौतिक सेयरको कारोबार हुँदैन । सोहीकारण सेयरमा आवेदन दिन तथा दोस्रो बजारमा कारोबार गर्न डिम्याट खाता र बैंक खाता अनिवार्य हुनुपर्ने प्रावधान छ ।
न्यूनतम १० कित्ता सेयर सबैलाई वितरण गर्नुपर्ने व्यवस्था पनि नाबालक (माइनर) का नाममा डिम्याट खाता खोल्ने र आवेदन दिने क्रम बढेको सीडीएसीले बताएको छ ।

हालसम्म ३ लाख १० हजार ७० वटा नाबालक खाता खुलेको सीडीएससीका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए । हालसम्म कुल २५ लाख ५४ हजार २ सय डिम्याट खाता खुलेका छन् । तीमध्ये १५ लाख २० हजार २ सय ५१ पुरुष र १० लाख २९ हजार १ सय ८० वटा महिलाका नाममा खुलेका छन् । तीमध्ये नाबालक खाता संख्या ३ लाख १० हजार ७० वटा रहेको उनले बताए । चालु आर्थिक वर्षको ६ महिनामा मात्र थप ८ लाख २६ हजार २ सय ८७ वटा डिम्याट खाता खुलेका छन् । जसअनुसार गत असारमा १७ लाख २७ हजार ९ सय १३ डिम्याट खाता खुलेका थिए । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

2022 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal