ऋण असुलीमा बैंकहरू आक्रामक, राष्ट्र बैंकले दिएको निर्देशन बैंकहरूले मानेनन

२०७७ माघ ८ गते, बिहीबार

माघ ८, काठमाडौं । नेपाल राष्ट्र बैंकले कोरोना महामारी प्रभापित व्यवसायीलाई कालोसूचीमा नराख्न तथा धितो लिलामी नगर्न निर्देशन दिए पनि बैंक तथा वित्तीय संस्थाहरू भने कर्जा असुलीमा आक्रामक देखिएका छन् । बैंकहरूले ऋण उठाउन सक्रियता देखाउँदै ऋण नतिर्ने कम्पनी तथा सर्वसाधारणलाई धमाधम कालोसूचीमा राख्नुका साथै धितो लिलाम गर्न थालेको पाइएको छ ।

बैंकहरूको सिफारिसमा खराब ऋणीलाई कालोसूचीमा राख्दै आएको कर्जा सूचना केन्द्रका अनुसार लकडाउनयता तीन हजार ६९ ऋणी कालोसूचीमा थपिएका छन् । कोभिड—१९ को संक्रमण पुष्टि भएपछि सरकारले गत वर्षको चैत ११ गतेदेखि देशव्यापी लकडाउन गरेको थियो । लकडाउन अवधिमा कालोसूचीमा राख्न बेवास्ता गरे पनि खराव कर्जा बढ्न थालेपछि बैंकहरू असुलीमा आक्रामक बनेका हुन् ।

लकडाउनपछि राष्ट्र बैंकले बैंकका ऋणीहरूलाई १० प्रतिशत ब्याज छुट र ब्याजदरमा २ प्रतिशत छुट दिन निर्देशन दिएको थियो । त्यसपछि चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत कोभिड प्रभावित उद्योगहरूलाई प्रभावका आधारमा वर्गिकरण गरी ऋण पुनर्संरचना, ऋण तिर्ने समय थप गर्नुका साथै पुनर्कर्जा र सहुलियत कर्जाको समेत व्यवस्था गरेको छ । यस्तै, अप्ठ्यारोमा परेका व्यवसायीलाई कालोसूचीमा नराख्न तथा तत्काल धितो लिलामी नगर्न केन्द्रीय बैंकले बैंकलाई मौखिक निर्देशनसमेत दिएको थियो ।

बैंकहरूले खराब कर्जा नियन्त्रणका लागि भन्दै धितो लिलामी तथा कालोसूचीमा राख्न थालेपछि व्यवसायीहरूले विरोध गर्न थालेका छन् । मंगलबार गभर्नर महाप्रसाद अधिकारीलाई भेट गर्न पुगको नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीले समेत यस विषयमा आपत्ति जनाएका थिए । कतिपय बैंक वित्तिय संस्थाले उद्यमी व्यवसायीलाई विभिन्न वहानामा कालोसूचीमा राख्ने गरेको भन्दै उनीहरूले यसबारेमा प्रभावकारी अनुगमनका लागि समेत आग्रह गरे । यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

2022 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal