केपी ओलीमा बदलाको भावना छ, चुनौती दिएकाले ममाथि बढी प्रहार भयो : नेपाल

२०७७ माघ ८ गते, बिहीबार

माघ ८, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेपाल–दाहाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली बदलाको भावना लिएर अघि बढ्ने स्वभावको भएको टिप्पणी गरेका छन् । ओलीले उनमा निहित खराब प्रवृत्तिलाई सच्याउन आग्रह गर्ने र चुनौती दिनेलाई शत्रुको व्यवहार गर्ने नेपालले बताए ।

सम्पादकहरूसँग बुधबार कुराकानी गर्दै अध्यक्ष नेपालले आफूले ओली प्रवृत्तिलाई चुनौती दिएकाले आफूमाथि बढी नै प्रहार भएको बताए । उनले तत्कालीन एमालेको नवौं महाधिवेशनबाट पार्टी लगातार ओरालो यात्रातिर लागेको पनि बताए । प्रधानमन्त्री ओलीले बोल्ड निर्णय गर्ने र चमत्कार गर्ने बताउँदै आएका प्रति लक्षित गर्दै अध्यक्ष नेपालले पहिलो चरणमा आफूलाई जेलमा राख्ने र दोस्रो चरणमा पुष्पकमल दाहाललाई जेल ठोक्ने रणनीति बनाएको बताए ।

‘उहाँले मलाई ललिता निवास प्रकरणमा थुन्ने योजना बनाउनुभएको रहेछ’, नेपालले भने, ‘मैले पनि जेलमा राखेर देखाउन चुनौती दिएँ । मैले एकएक केसमा जान्छु भनें । मैले चुनौती दिएपछि चाहिँ उहाँ भनेकै छैन भन्नुहुन्छ, चुनौती दिनेबित्तिकै अरिंगालको गोलामा हान्ने र साइबर सेना खटाउने गर्नुहुन्छ ।’

नेपालले ओलीमा अहंकार बढ्दै गएको र त्यसैको परिणाम प्रतिनिधिसभा विघटन भएको बताए । उनले प्रधानमन्त्री ओलीले गलत काम गर्दै जाने र पार्टीले त्यस्ता कामलाई समर्थन गर्नुपर्ने अवस्था आएपछि आफूहरूले समर्थन गर्न नसक्ने बताएको जानकारी पनि सम्पादकलाई गराए । आफूहरूले समर्थन गर्न नसक्ने बताएपछि ओलीले थप पेल्न र हेप्न खोजेको नेपालले बताए ।
यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

2022 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal