ह्वाइट हाउस प्रवेश गरे लगत्तै बाइडेनको कार्यकारी आदेश, ट्रम्पका नीति उल्टिने संकेत

२०७७ माघ ८ गते, बिहीबार

माघ ८, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले कार्यकालको सपथ ग्रहण गरे लगत्तै कार्यकारी आदेश जारी गरेका छन । उनले कोरोनाभाइरस महामारीको सङ्कट सम्बोधनमा सङ्घीय कारबाही तेज गर्ने कार्यकारी आदेशहरू जारी गरेका छन् । राष्ट्रपति बाइडेनले जलवायु परिवर्तन, आप्रवासन तथा जातिय सम्बन्धबारे अख्तियार गरेका नीतिबारे कार्यकारी आदेश जारी गरेका हुन ।

ट्रम्पले मुस्लिम देशहरूबाट अमेरिकामा यात्रा गर्न लगाएको प्रतिबन्ध फुकुवा गर्नुका साथै कोरोना भाइरसका कारण उत्पन्न संकटका बेला विद्यार्थीलाई गरेको निष्कासन तथा ऋण भुक्तानीसम्बन्धी निर्णयसमेत बाइडेनले परिवर्तन गर्ने सञ्चारमाध्यमहरूले जनाएका छन् । बाइडेनले निर्वाचनका बेला नै प्रतिबद्धता गरेकामध्ये केही महत्त्वपूर्ण मुद्दाको प्रक्रिया पहिलो दिनमै अघि बढाएका जनाइएको छ । उनको टोलीका अनुसार सय दिनभित्रै

बृहत् आप्रवासी योजना पनि पेस गर्ने बताएका छन् । चुनावी अभियानका बेला बाइडेनले अघि सारेको आप्रवासी योजनाले अमेरिकामा रहेका लाखौं विदेशीले बिनाकागजात नागरिकता पाउने बाटो खुल्नेछ । बाइडेनले कोरोना राहत प्याकेजको भुक्तानी प्रक्रिया पनि अघि बढाउने बताइएको छ ।

यस अघि ट्रम्प प्रशासनले जलवायु परिवर्तन, आप्रवासन तथा जातिय सम्बन्धबारे अख्तियार गरेका नीतिहरु बाइडेन प्रशासनले उल्ट्याइदिनेछ । ह्वाइट हाउस गरे लगत्तै बाइडेनले ‘हामीले सामना गरिरहेको सङ्कटसँग जुझ्ने क्रममा खेर फाल्ने समय हामीसँग छैन,’ भनेर ट्वीट गरेका थिए ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal