भारतमा आन्दोलनरत किसान र प्रहरीबीच झडप, किसानहरु उग्र बनेपछि विभिन्न स्थान तनावग्रस्त

२०७७ माघ १३ गते, मंगलवार

माघ १३, काठमाडौं । किसान आन्दोलनले उग्र रुप लिएपछि भारतको राजधानी नयाँदिल्लीका विभिन्न स्थान तनावग्रस्त बनेको छ । मंगलबार दिल्लीको मुख्य भागतर्फ अगाडि बढेका आन्दोलनरत किसानहरु उग्र बनेपछि आईटीओ, अक्षरधामलगायतका स्थानहरु तनावग्रस्त बनेको हो ।

ट्रयाक्टरसहित पुगेका किसानहरुले बसलगायत सार्वजनिक सम्पत्ति तोड्ने र प्रहरीमाथि समेत आक्रमण गरेपछि परिस्थिति उग्र बन्न पुगेको हो । किसानहरुलाई रोक्न प्रहरीले दर्जनौं अश्रुग्यास प्रहार गर्नुका साथै लाठी चार्जसमेत गरेको छ । तर, किसानहरुको संख्या धेरै भएका कारण प्रहरीलाई स्थिति नियन्त्रणमा लिन हम्मेहम्मे परेको थियो ।

गणतन्त्र दिवसको अवसरमा राजधानी नयाँदिल्लीमा झाँकी र सेनाको परेड सहितको भव्य कार्यक्रम चलिरहेकै बेला किसानहरुले सरकारको विरोधमा ऱ्याली निकालेका थिए। मोदी सरकारले ल्याएको कृषिसम्बन्धी तीनवटा कानुनको विरोधमा विगत पाँच महिनादेखि भारत किसानहरु आन्दोलनरत छन् । विशेषगरी पन्जाब, हरियाणा, उत्तर प्रदेश, कर्नाटक, महाराष्ट्र र पश्चिमबंगाललगायतका राज्यमा ती कानुनको चर्को विरोध हुँदै आएको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal