शीतलहर सकस : कठ्यांग्रिने चिसोबाट जोगिन दिनभरि घुर बालेर जोगिने प्रयास

२०७७ माघ १४ गते, बुधबार

माघ १४, काठमाडौं । मोरङको बुढीगंगा गाउँपालिका–३ का फेकनी ऋषिदेवको घरका सबै जना मुटु नै कमाउने ठन्डीबाट जोगिन दिनभरि घुर बालेर जीउ तताउँछन्। यतिबेला पूर्वी तराईमा शीतलहर चलेको छ। त्यसमाथि उनको झुप्रो नहरको डिलमा छ। ५५ वर्षीया फेकनीसहित परिवारका ७ जना बिहान ४ बजे नै घुर बालेर बेलुकीसम्मै तापेर बस्छन्।

शीतलहरको कठ्यांग्रिने चिसोबाट बच्न न्याना लुगाहरू नभएकाले आफ्नो परिवार घुरकै तातोले मात्र बाँचेको उनी बताउँछिन्। नहर आसपासको ऐलानी जग्गामा बसेका करिब डेढ सय घरका सुकुम्बासी ऋषिदेवहरूको शीतलहर सुरु भएयताको नियमित दिनचर्या बनेको छ– घुर ताप्नु। कोरोनाकै कारण छोराहरू यस वर्ष भारतमा काम गर्न जान नपाएकाले जाडोबाट जोगिन चाहिने कपडाको अभाव भएको गुनासो उनले गरिन्।

छोराहरू कसैले पनि कमाइ गर्न नसकेकाले नहरको डिलमा घुर बालेर जाडो काट्न बाध्य भएको उनको भनाइ छ। त्यही घुर बाल्न चाहिने पराल र भुस पनि उनीहरूसँग छैन। उनका अनुसार पराल र भुस पनि साहुसँग मागेर ल्याउनु परेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार मंगलबार विराटनगरको न्यूनतम तापक्रम १२ दशमलव ४ डिग्री सेल्सियस छ। गएको बिहीबार विराटनगरको न्यूनतम तापक्रम ९ दशमलव ८ डिग्री सेल्सियसमा झरेको थियो। शीतलहर सुरू हुनासाथ विराटनगरको तापक्रम झर्न थालेको विभागले जानकारी दिएको छ।


स–साना नातिनी छन्, घुर नबाले कठ्यांग्रिएरै मर्छन्, उनले भनिन्, ‘खै कसैले हेर्छ र हामीलाई रु कसैले हाम्रो पीरमर्का सुन्दैन।’ उनकै छेऊमा बसेका ५० बर्से हरिनारायण ऋषिदेवले भने, ‘दुईरतीन परिवार मिलेर घुरमा बसेरै दिन कटाउने गरेका छौं। काम पनि छैन, खान त रिन नै लिनुपर्ने अवस्थामा कहाँ जाने र के गर्ने अन्योलमा छौं हामी।’ वडा नम्बर ४ का ६८ वर्षका शान्ति चौधरीले गरिबको दुःख कसैले नहेर्ने गुनासो गरे। ‘न्यानो लुगा मात्र दिए पनि हुन्थ्यो,’ उनले भने, ‘काम गरेर पेट फाल्न नै धौ धौ भएकाले जीउ ढाक्ने ताता लुगा कसरी किन्ने ?’

लखन्तरी चौधरीले पराल जोगाएर राखेकाले चिसोबाट जोगिएको सुनाइन्। मालिक र साहूलाई जति गुहारे पनि लुगा किन्न पैसा नदिएको बताउँदै उनले भनिन्, ‘आगो बाल्न पराल दिनसमेत आलटाल गर्छन्। कम्तीमा दाउराको व्यवस्था मिलाइदिए चिसोबाट जोगिन्थ्यौं।
केही दिनदेखिको हुस्सु र स्याँठले जनजीवन औधी प्रभावित भएको छ । यसबाट सुकुम्बासीलगायत विपन्न वर्ग सबैभन्दा बढी प्रभावित भएका छन् ।

विराटनगरका विपन्न परिवार जाडो बढेसँगै समस्यामा परेका छन् । जीउ ढाक्ने न्याना कपडा नहुँदा अधिकांश शिशु, बालबालिका र वृद्धवृद्धा शीतलहरको बढी मारमा छन् । शीतलहरले बालबच्चा र वृद्धवृद्धालाई सबैभन्दा धेरै गाह्रो भएको विराटनगर रामपुरकी सरु पहरीले बताइन्। छिमेकीसँगै पराल बालेर तापिरहेकी उनले भनिन्, ‘जाडोले धेरै समस्या भएको छ। न्याना कपडा नहुँदा जाडो कसरी कटाउने पिरलो भएको छ।’

उनका अनुसार मुसहर बस्तीका बालबालिकामा सबैभन्दा बढी असर परेको छ । ‘आङ तताउने कपडा नहुँदा मुसहर बस्तीका अधिकांशलाई जाडो छल्न कठिन भएको छ,’ उनले भनिन्, ‘राज्यले राहतको व्यवस्था मिलाउनुपर्ने हो। तर अहिलेसम्म सरकारको ध्यान विपन्नलाई राहत दिनेतर्फ गएको छैन।’

कतिपयले प्लास्टिकजस्ता कुरा बालेर रात कटाउने गरेका छन्। कतिपयले परालको ओछ्यान बनाएर अनि छेऊमा परालै बालेर ज्यानै जोखिममा पारेर रात कटाइरहेका छन्। ठन्डीले जीवनयापन कष्टकर भइरहेकाले बिहान–बेलुकाको छाक कसरी टार्ने भनेर पिरोलिने गरेको उनीहरूले सुनाए। चुनावमा भोट माग्दा ‘यो गर्दिन्छौं, त्यो गर्दिन्छौ’ भनेर अनेक बाचा गर्ने नेताले यस्तो समस्याका बेलामा समेत केही थाहै नपाएजस्तो गरेको गुनासो सुकुम्बासी र पिछडिएका समुदायले गरेका छन्। यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिक मा प्रकाशित छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal