जीडीपीभन्दा बैंक निक्षेप धेरै, नीति निर्माण गर्न विज्ञहरूको सुझाव

२०७७ माघ १४ गते, बुधबार

माघ १४, काठमाडौं । वित्तीय प्रणालीमा रहेको कुल निक्षेपले अर्थतन्त्रको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को आकार नाघेको छ । यसलाई विज्ञहरूले मुलुकको आर्थिक गतिविधिभन्दा वित्तीय क्षेत्रको वृद्धिदर उच्च भएको विश्लेषण गरेका छन् । वित्तीय क्षेत्रको वृद्धि राम्रो भए पनि अर्थतन्त्रको वृद्धिदरभन्दा उच्च रहेकाले जोखिमको सम्भावना पनि उत्तिकै रहेको उनीहरूले औंल्याएका छन् । यस्तो अवस्थामा नीति निर्माताले संयमित रूपमा नीति निर्माण गर्नुपर्ने विज्ञहरूको सुझाव छ ।

राष्ट्र बैंकका अनुसार गत असारमै वित्तीय प्रणालीमा रहेको निक्षेप सोही अवधिको जीडीपीको अनुपातमा सय प्रतिशतभन्दा धेरै थियो । ‘असार मसान्तमा कुल निक्षेप जीडीपीको अनुपातमा १ सय ४ प्रतिशत छ,’ गत असारको राष्ट्र बैंकको मासिक तथ्यांकमा भनिएको छ । केन्द्रीय तथ्यांक विभागका अनुसार गत असारमा मुलुकको जीडीपी ३७ खर्ब ६७ अर्ब रुपैयाँ थियो ।

गत आर्थिक वर्षकै जीडीपीको अनुपातमा चालु आर्थिक वर्षका सबै महिना (साउन, भदौ, असोज, कात्तिक, मंसिर) मा वित्तीय प्रणालीमा रहेको निक्षेप सय प्रतिशतभन्दा धेरै छ । गत मंसिरमा यस्तो जीडीपीको तुलनामा निक्षेप अनुपात १ सय ११.२५ प्रतिशत छ । गत पुसमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ४२ खर्ब ८० अर्ब रुपैयाँ र मंसिरमा ४० खर्ब ९१ अर्ब रुपैयाँ थियो ।

कोभिड–१९ को जोखिमबाट बच्न गरिएको लकडाउनका कारण मुलुकमा लामो समय आर्थिक गतिविधि ठप्प रहे । यही कारण चालु आर्थिक वर्षमा जीडीपीको वृद्धि न्यून वा ऋणात्मक नै पुग्ने अनुमानहरू गरिएका छन् । तर निक्षेप भने निरन्तर रूपमा बढिरहेको छ । यसकारण चालु आवका बाँकी महिनाहरूमा पनि जीडीपीको तुलनामा निक्षेप अनुपात एक प्रतिशतभन्दा धेरै बढी रहने जानकारहरू बताउँछन् ।

जीडीपीको अनुपातमा बैंक तथा वित्तीय प्रणालीमा रहेको निक्षेप धेरै हुनु वित्तीय प्रणाली बलियो रहेको संकेत भएको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टको भनाइ छ । ‘यो राम्रो पक्ष हो, अब यही अनुपातमा अन्य क्षेत्रको वृद्धि पनि हुनुपर्छ,’ उनले भने । विगतका तुलनामा वित्तीय पहुँच र वित्तीय साक्षरता बढेकाले यो अवस्था आएको उनले बताए ।

‘हाल ७ सय ४९ स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुगिसकेका छन्,’ उनले भने, ‘वित्तीय साक्षरता बढेकाले बैंकिङ बानी पनि बढेको छ ।’ वित्तीय पहुँच बढेपछि गाउँगाउँमा छरिएर रहेको रकम वित्तीय प्रणालीमा आएकाले बैंक तथा वित्तीय प्रणालीमा निक्षेप र कर्जा प्रवाह दुवै उल्लेख्य रूपमा बढेको उनले बताए ।

वित्तीय प्रणालीमा धेरै रकम थुप्रिँदा ब्याजदर धेरै तल झर्न सक्छ । ‘अहिले वित्तीय प्रणालीमा यही अवस्था छ । निक्षेपमा ऋणात्मक ब्याजदरको स्थिति छ भने कर्जाको ब्याजदर पनि धेरै तल (एकल अंक) मा झरिसकेको छ,’ ती विज्ञले भने । निक्षेपको ब्याजदर न्यून हुँदा बचत निरुत्साहित हुन्छ भने कर्जाको ब्याजदर कम हुँदा अनुत्पादक क्षेत्रमा कर्जा प्रवाहको सम्भावना धेरै रहने ती अधिकारीको भनाइ छ ।

‘ठूलो परिमाणमा रोजगारी सिर्जना गर्ने वास्तविक क्षेत्र हो,’ उनले भने, ‘अहिले वास्तविक क्षेत्रले धेरै रोजगारी सिर्जना गर्न सकेको छैन । यसकारण बेरोजगारी संख्या बढिरहेको छ ।’ यस्तो अवस्थामा नियामक निकायले नियमन तथा सुपरीवेक्षण क्षमता वृद्धि गर्नुपर्ने जानकारहरू बताउँछन् । निक्षेपको स्रोत के हो रु कर्जा प्रवाह कुन क्षेत्रमा भएको छ रु औचित्य पुष्टि भएको छरछैन लगायत पक्षमा नियामक निकायले प्रभावकारी रूपमा सुपरीवेक्षण गर्न सक्नुपर्ने उनीहरूको सुझाव छ ।

त्यसो त जीडीपीको अनुपातमा बैंक तथा वित्तीय संस्थाको कुल कर्जा प्रवाह पनि निरन्तर बढिरहेको छ । सोही क्रममा गत मंसिरसम्म ९३.५० प्रतिशत पुगेको थियो । गत असारमा यस्तो अनुपात करिब ८७ प्रतिशत थियो । चालु आर्थिक वर्षको ६ महिना (साउनदेखि पुससम्म) ४ अर्ब रुपैयाँभन्दा बढीले कर्जा प्रवाह वृद्धि भएको छ । गत साउन १ मा ३२ खर्ब ४६ अर्ब रुपैयाँ रहेको कुल कर्जा प्रवाह पुस मसान्तमा ३६ खर्ब ६० अर्ब रुपैयाँ पुगेको छ । यो समाचार आजको कान्तिपुर दैनिक मा प्रकाशित छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal