प्रतिनिधिसभा पुनर्स्थापनाकै पक्षमा छु : उपाध्यक्ष गौतम

२०७७ माघ १४ गते, बुधबार

माघ १४, काठमाडौं । नेकपाका उपाध्यक्ष एवं ‘पार्टी एकता राष्ट्रिय अभियान’का संयोजक वामदेव गौतमले आफू प्रतिनिधिसभा पुनर्स्थापनाकै पक्षमा रहेको बताएका छन।

बुधबार ललितपुरको धोबीघाटस्थित सिद्धार्थ कटेजमा आयोजित ‘पार्टी एकता राष्ट्रिय अभियान’ घोषणा कार्यक्रममा बोल्दै गौतमले गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भङ्ग नगरी राजीनामा दिएको भए उनको इज्जत बढ्ने बताए।

‘मेरो भित्री चाहना प्रतिनिधि सभा पुनर्स्थापना नै हो,’ गौतमले भने, ‘तर सर्वोच्चले जे निर्णय गर्छ त्यही मान्नुपर्छ। सर्वोच्चले निर्वाचन भन्यो भने निर्वाचनमा जानुपर्छ तर भोट नेकपालाई नै दिनुपर्छ।’

गौतमले प्रतिनिधिसभा भंग नगरी राजीनामा दिएको भए प्रधानमन्त्री केपी शर्मा ओलीको इज्जत बढ्ने बताए । उनले भने ‘पार्टी फुटे फुट्छ भनेर प्रतिनिधिसभा भंग गरियो, प्रतिनिधिसभा भंग नगरी राजीनामा दिएर राष्ट्रपतिकोमा गएको भए के हुन्थ्यो केपी ओलीको शान रु केपी ओलीको प्रतिष्ठा कति उचो हुन्थ्यो ?’

गौतमको एकता अभियानमा नेकपा केन्द्रीय सदस्य हरि पराजुली, विघटित प्रतिनिधिसभा सदस्य माया ज्ञवाली, तुलसा थापा, कीर्तिपुरका मेयर रमेश महर्जन र उपमेयर सरस्वती खड्का, वाग्मती प्रदेश सांसद विनोद खड्कालगायत सहभागी छन ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal