शक्तिका लागि दाहालले भैसी पूजा गरे, मानव कल्याणको लागि प्रधानमन्त्रीले पशुपतिनाथको : थापा

२०७७ माघ १५ गते, बिहीबार

माघ १५, काठमाडौं । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले नेकपा अध्यक्ष पुष्पकमल दाहालले आफ्नो शक्ति वृद्धिका लागि भैसीको पूजा गरेको बताएका छन।

बिहीबार सामाजिक सञ्जालमा दुई अध्यक्षको फोटो जोडेर लेख्दै थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व शान्ति र मानव कल्याणको लागि पशुपतिनाथमा पूजा गरेको भन्दै अर्का अध्यक्ष दाहाल भैसीको पूजा गर्ने गरेको बताएका हुन ।

उनले दाहाल र ओलीको पशुपतिनाथमा गएको र भैंसी पूजा गरिरहेको फोटोे जोडेर हालेका छन। दुई जनाको फोटो हालेर दुईबीच फरक देखाउन खोजेको देखिन्छ ।

थापाले प्रधानमन्त्रीको प्रशंसा गर्दै लेखेका छन, ‘दैनिक हजारौं जनता श्रद्धाका साथ पूजाआजामा जाने पशुपतिनाथ मन्दिरमा उहाँको यस कार्यको सर्वत्र प्रशंसा भएको छ ।’ प्रधानमन्त्रीले माघ १२ गते पशुपतिनाथ मन्दिरको भ्रमण, निर्माणकार्यको निरीक्षण एवं विशेष पूजा र दीप प्रज्वलन गर्नु भएको थियो’ ।

तत्कालीन माओवादीका अध्यक्ष हुँदा २०६६ माघ २९ मा भैंसी पूजा गरेको भन्दै दाहालको आलोचना भएको थियो। त्यसबेला उनले ग्रह शान्तिका लागि भन्दै भैंसी पूजा गरेका थिए।
प्रधानमन्त्रीले देशलाई अस्थिरतामा कोचेर पशुपतिनाथको शरणमा गएको भन्दै सर्वत्र आलोचना भएको थियो । प्रधानमन्त्री हुँदासमेत ईश्वरको नाममा सपथ नखाएका ओली एक्कासि पशुपतिनाथ पुग्दा सबै आश्चर्यम परेका थिए ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal