एनआईसी एशियाको नाफामा सामान्य सुधार, प्रतिशेयर आम्दानी भने घट्यो

माघ १५, काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले २ अर्ब ६ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो २.१९ प्रतिशत बढी हो।
११ अर्ब ५६ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ६ अर्ब ८९ करोड २८ लाख रुपैयाँ रहेको छ । खुद नाफा सामान्य बढेपनि बैंकको प्रतिशेयर आम्दानी भने घटेको छ।
गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ४१ रुपैयाँ ६१ पैसा रहेको बैंकको यस्तो आम्दानी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा घटेर ३५ रुपैयाँ ७३ पैसा कायम भएको छ। सो अवधिसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १५७ रुपैयाँ ७१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २५.५२ गुणा रहेको छ।