बिहीवार शेयर कारोबार रकममा व्यापक उत्साह, परिसूचक १६.५५ अंक घट्यो

२०७७ माघ १५ गते, बिहीबार

माघ १५, काठमाडौं । साताको अन्तिम कारोबार दिन शेयर कारोबार रकमले ऐतिहासिक रेकर्ड कायम गरेको छ । बिहीवार। ९ अर्ब ८९ करोड ८४ लाख ५६ हजार बराबरको कारोबार भएको हो । यसअघि गत माघ ११ गते ९ अर्ब ३७ करोड ६० लाख ५३ हजार बराबरको शेयर कारोबारले ब्रेक गरेको थियो ।

कारोबार रकमले ऐतिहासिक रेकर्ड कायम गरेको दिन नेप्से परिसूचक भने १६.५५ अंक घटेर २४२५.२९ विन्दुमा झरेको छ । उता, सेन्सेटिभ इन्डेक्स भने ४.३२ अंक घटेर ४४२.०६ विन्दुमा बन्द भएको छ ।

बिहीवार बैंकिङ समूहमा गिरावट आएपछि सेयर बजार सामान्य प्रभावित भएको छ । बिहीबार अधिकांश वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । प्रकाशित वित्तीय विवरणमा धेरै जसो बैंकहरुको नाफा सन्तोषजनक देखिएको छैन । तथापि, केहीले भने कोरोना कहर र घट्दो स्प्रेड दरकाबीचमा पनि राम्रो मुनाफा आर्जन गरेका छन् । धेरैको नाफा घटेको यही रिपोर्टलाई आधारमा मानेर बिहीबार विशेषगरी बैंकिङ समूहमा धेरै ह्रास देखिएको छ । यसको समग्र प्रभाव नेप्से सूचकमा देखिएको हो । तर खरिदबिक्री रकममा भने उत्साहजनक सुधार हुँदै आएको छ ।

बिहीवार निर्जीवन बीमा समूहको परिसूचक सर्वाधिक ३.३८ प्रतिशतले बढेको छ । यो दिन उत्पादन तथा प्रशोधनको २.८२ प्रतिशत र लघुवित्तको २.१४ प्रतिशतले परिसूचक बढेको छ भने बाँकी समूहको घटेको छ ।

बिहीवार सगरमाथा इन्स्योरेन्स र सूर्योदय लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने सपोर्ट माइक्रोफाइनान्सको ९.९८ प्रतिशत, आरम्भ चौतारी लघुवित्तको ९.९७ प्रतिशत , प्रभु लाइफ इन्स्योरेन्सको ९।९७ प्रतिशत , एभरेष्ट इन्स्योरेन्सको संस्थापक शेयरको मूल्य ९.७८ प्रतिशत र सारथी नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.४७ प्रतिशत बढेको छ ।
बजारले उच्च विन्दु कायम गरिरहदा लगानीकर्ताहरुले पछिल्लो समय अल्पकालिन नाफा बुक गर्न थालेको देखिन्छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal