पुटिनका खरो आलोचक नाभाल्नीको घरमा प्रहरीको छापा

माघ १५, काठमाडौं । रूसी प्रहरीले राष्ट्रपति भ्लादमिर पुटिनका आलोचक अलेक्सी नाभाल्नीको घर र कार्यालयमा छापा मारेको छ। रूसी प्रहरीले बुधबार मस्कोस्थित उनको अपार्टमेन्ट र एन्टी-करप्सन फाउन्डेसनको कार्यालयमा छापा मारेको हो।
नाभाल्नीका समर्थकले गत साता उनको रिहाइका लागि गरेको प्रदर्शनका क्रममा कोरोनाभाइरस विरूद्धका स्वास्थ्य मापदण्ड उल्लंघन गरेकाले सोधपुछ गर्न छापा मारीएको बताइएको छ। रूसी सञ्चारमाध्यमहरूका अनुसार प्रहरीले नाभाल्नीका भाइ ओलेगलाई पक्राउ गरेको छ।
प्रहरीले एन्टी-करप्सन फाउन्डेसनको कार्यालयमा पनि खोजतलास गरेको छ। नाभाल्नीले खोलेको यो फाउन्डेसनले केही समयअघि राष्ट्रपति पुटिनका लागि १ अर्ब पाउन्ड खर्चेर बनाइएको भनिएको दरबारबारे अनुसन्धान गरेको थियो। नाभाल्नीका समर्थकले आइतबार फेरि उनको रिहाइका लागि प्रदर्शन गर्ने तयारी गरेका छन्।
पाँच महिनापछि स्वदेश फर्किएका नाभाल्नीलाई १० दिनअघि विमानस्थलबाटै पक्राउ गरिएको थियो। नाभाल्नीलाई केही महिनाअघि जहाजमा हुँदा विष खुवाइएको थियो। कोमामा पुगेका उनलाई उपचारका लागि जर्मनी लगिएको थियो। निको भएपछि उनी पत्नी र अन्य सहयोगीहरूसँग स्वदेश फर्किएका थिए।