कोरोना खोप लगाउन सुरु गरिएसँगै नेपाली नागरिकमा आशा र उत्साह

२०७७ माघ १६ गते, शुक्रबार

माघ १६, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाउने अभियान बुधबारबाट सुरु गरिएको छ । पहिलो दिन देशभर नौ हजार ८४ जनाले पहिलोपटक कोरोनाविरुद्धको खोप लगाएका छन् ।
कोरोना खोप लगाउन सुरु गरिएसँगै आम नागरिकमा आशा र उत्साह सञ्चार भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले ६४ जिल्लाका ९३ खोप केन्द्रबाट खोप लगाइएको जानकारी दिए । प्राविधिक कारणले बाँकी जिल्लामा खोप सेवा सुरु हुन नसकेको जनाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरुद्धको खोप अभियानको शुभारम्भ गर्दै सबै नेपालीले कोरोनाविरुद्धको खोप निःशुल्क रूपमा पाउने बताए।

खरिद वा अनुदान जुनसुकै माध्यमबाट प्राप्त भए पनि नेपाली नागरिकलाई खोप निःशुल्क गरिने जानकारी दिँदै ओलीले तीन महिनाभित्र सबैलाई खोप उपलब्ध गराउने सरकारको नीति रहेको बताए। प्रम ओलीले बिनाभेदभाव प्राथमिकताका आधारमा सबै नेपालीलाई खोप दिने बताए । सरकारले पहिलो अभियान १० दिनभित्र सम्पन्न गर्ने लक्ष्य राखेको छ ।

मन्त्रालयका प्रवक्ता डा. गौतमले खोप कार्यक्रमअन्र्तगत प्रदेश १ मा एक हजार २५५, प्रदेश २ मा ७२६, बागमती प्रदेशमा दुई हजार ६९४, गण्डकी प्रदेशमा एक हजार ८४३, लुम्बिनी प्रदेशमा ७३३, कर्णाली प्रदेशमा ७५१ जना र सुदूरपश्चिम प्रदेशमा एक हजार ८२ जनाले खोप लगाएको जानकारी दिए। मन्त्रालयका अनुसार खोप लगाएका व्यक्तिमा हालसम्म कुनै पनि स्वास्थ्य समस्या देखिएको छैन ।

मन्त्रालयका अनुसार काठमाडौँस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, वीरेन्द्र प्रहरी अस्पताल, पाटन अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीर अस्पताललगायतमा खोप अभियान सुरु गरिएको छ । यी अस्पतालमा प्रधानमन्त्री ओली र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीका साथै स्वास्थ्य मन्त्रालयका पदाधिकारीले स्थलगत अनुगमन गरेका थिए।

शुक्रराज ट्रपिकल अस्पताल टेकुका निर्देशक डा। सागर राजभण्डारीले कोरोना खोप लगाएपछि निश्चिन्त भएको बताउँदै खोप लगाएर आफू गौरवान्वित भएको उल्लेख गरे।उनले भने, “ढुक्क भएर खोप सुरक्षित छ भन्ने सन्देश प्रवाह गर्नका लागि मैले पहिलो खोप लगाएँ ।”

एक वर्षअघि चीनको बुहानबाट कोरोना भाइरसको सङ्क्रमण फैलिन सुरु भएको हो । नेपालमा पनि गत २०७६ साल माघ ९ गते कोरोना भाइरसको पहिलो सङ्क्रमण देखिएको थियो । चीनको बुहानबाट आएका एक नेपाली युवकमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो । नेपालमा कोरोनाबाट हालसम्म दुई हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने दुई लाख ६५ हजारभन्दा बढी व्यक्ति सङ्क्रमित भइसकेका छन् ।

टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा। अनुप बास्तोलाले आफूले ढुक्क भएर खोप लगाएको बताए। उनले कोरोना खोप अन्य खोपजस्तै सामान्य भएको भन्दै यसले कुनै असर नगर्ने दाबी गरे। उनले कोरोना खोप लगाएपछि मानिस मर्छन्, बौलाउँछन् भन्नु भ्रम हुने भएकाले कोरोनाविरुद्धको खोप लगाउन सबैलाई सुझाव दिए। यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal