चाँगु नारायणबाट ल्याइएको घैंटो हनुमानढोमा फुटाई भगवानलाई अपसगुन देखाइयो

२०७७ माघ १६ गते, शुक्रबार

माघ १६, काठमाडौं । बसन्तपुरमा बिहीबार माटोको घैंटो फुटाउने जात्रा सम्पन्न भएको छ । चाँगु नारायणबाट ल्याइएको कलशलाई हनुमानढोका परिसरमा ल्याएपछि उक्त घैंटो फुटाई भगवानलाई अपसगुन देखाइने प्रचलन छ ।

हनुमानढोका पुगे पश्चात जीवित देवी कुमारीको आगमनपछि चाँगुनारायणबाट ल्याइएका लक्ष्मीनारायणको प्रतीक कलशलाई पूजाआजा गरी तलेजु भवानीको मन्दिर परिसरमा स्वागत गरिन्छ । तान्त्रिक विधिबाट पुजा गरिनुका साथै हनुमानढोका परिसरको मुल चोकमा हवन गरिन्छ ।

परापूर्वकाल चाँगुनारायण घुम्दाघुम्दै कान्तिपुरमा आइपुगेको अवस्थामा एक तान्त्रिकले नारायण भगवान भनी पहिचान गरिसकेपछि यस देशबाट बाहिर जान नदिन माटोको घैंटो फुटाएर अपसगुन भयो भनेर बन्धक बनाइएको थियो । यसरी आफूलाई बन्धक बनाएपछि कता जाने भनेर अन्यौलमा परेपछि तलेजु भवानीको मन्दिरभित्र बास बसेको किम्वदन्ती रहेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal