निर्वाचन आयोगले नेकपाका दुबै पक्षसँग छलफल गर्दै, सहमति नभए सूर्य चिह्न फ्रिज हुन सक्छ

माघ १६, काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुबै पक्षसँग आज छलफल गर्दैछ । केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छुट्टाछुट्टै पत्र लेखेर आयोगले छलफलका लागि बहादुर भवनस्थित कार्यालयमा बोलाएको हो ।
अध्यक्षद्वयलाई पत्र पठाएर शुक्रबार बिहान साढे ११ बजे दुबै अध्यक्ष र अध्यक्षले तोकेका आधिकारिक व्यक्ति गरी ५र५ जनालाई बोलाइएको हो । आयोगका अधिकारीहरूका अनुसार प्रचण्ड–माधव र ओली समूहबीच शुक्रबार हुने छलफल वा दल दर्ता गर्नेबेलासम्म कुनै सहमतिमा नभए नेकपा दल दर्ता नहुन सक्छ ।
त्यस्तो अवस्थामा वैशाखमै मध्यावधि चुनाव हुने भयो भने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र सूर्य चुनाव चिह्न प्रयोग हुँदैन ।आयोगले यसलाई फ्रिज गर्ने सक्ने आयोगका अधिकारीहरू बताउँछन् ।
त्यस्तो अवस्थामा प्रचण्ड–माधव र ओली समूहसामू चुनावमा जाने विकल्प हुनेछ– नयाँ दल दर्ता गर्ने वा राजनीतिक दलसम्बन्धी ऐनको दफा ४९ अनुसार दुई वा दुईभन्दा बढी दलले कुनै एउटा दलले प्राप्त गरेको चुनाव चिह्न वा अर्को कुनै चुनाव चिह्न लिएर निर्वाचनमा भाग लिन निवेदन दिने विकल्प हुन सक्नेछ ।