इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ बाँडफाँड, ४ लाख ९२ हजार ७२ जनाले पाए ६० कित्ता

२०७७ माघ १६ गते, शुक्रबार

माघ १६, काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले सर्वसाधारणलाई निष्काशन गरेको प्राथमिक शेयर ९आईपीओ० को बाँडफाँड भएको छ । बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटको कार्यलयमा शुक्रबार बिहान १० बजे शेयर बाँडफाँड भएको हो ।

बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटका अनुसार ५० कित्तासम्म माग गर्ने सबैलाई ५० कित्तासम्म बाँडफाँड गरी बाँकी रहेको ४९ लाख २० हजार ७२० कित्ता शेयर गोलाप्रथाबाट ५० कित्ता भन्दा बढी आवेदन गर्ने ४ लाख ९२ हजार ७२ जनालाई थप १० कित्ता दरकाले बाँडफाँड भएको छ । त्यस अनुसार अधिकतम ६० कित्तासम्म आवेदनकर्ताले शेयर पाएका छन् ।

आईपीओमा आवेदन गरेकामध्ये १४ लाख ७५ हजार ८० वटा आवेदन योग्य परेका थिए भने ६ हजार २७६ वटा आवेदन रद्ध भएको क्यापटलले जनाएको छ । बैंकले माघ २ गते देखि ६ गते सम्म जारी पूँजी २० अर्ब रुपैयाँको ४० प्रतिशतले हुन आउने ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो ।

त्यस मध्ये ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्टाएर बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणलाई निष्काशनमा ल्याएको थियो । ८ अर्ब रुपैयाँ बराबरको आईपीओ बाँडफाँट पश्चात बैंकको चुक्ता पूँजी २० अर्ब पुग्नेछ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal