नेपालमा बर्ड फ्लू सङ्क्रमण पुष्टि, काठमाण्डौमै पालेका टर्की र हाँसमा बर्ड फ्लू (विज्ञप्ती सहित)

२०७७ माघ १७ गते, शनिबार

माघ १७, काठमाडौं । नेपालमा बर्ड फ्लू देखिएको छ । काठमाण्डौको तारकेश्वर नगरपालिकामा पालेका टर्की र हाँसमा बर्ड फ्लू पुष्टि भएको पशु सेवा विभागले जनाएको छ ।

केन्द्रिय पशुपन्क्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको रियल टाइम पीसीआर परीक्षणमा बर्ड फ्लू भएको पुष्टि भएको हो । बर्ड फ्लू पुष्टि भएपछि त्यो फार्म तथा आसपासमा रहेका हाँस, बट्टाई, कुखुरा, टर्कीसँगै अण्डा र दाना नष्ट गरिएको छ ।

रोग अन्यत्र फैलन नदिन बर्ड फ्लू देखिएको क्षेत्रमा रहेका सबै घरपालुवा पन्छी तथा रोग सार्न सक्ने अन्य वस्तुलाई नष्ट गरिएको विभागले जनाएको छ । रोग देखा परेको क्षेत्रलाई निसङ्क्रमण गरिसकेको पनि विभागले जनाएको छ ।

विभागले नेपालमा बर्ड फ्लूको जोखिमलाई ध्यान दिएर रोग रोकथाम तथा नियन्त्रण सम्बद्ध निकायहरुलाई सतर्क अवस्थामा राखेको जनाएको छ ।
अघिल्लो महिना भारतका विभिन्न ठाउँहरुमा बर्ड फ्लू रोग देखा परेसँगै नेपालमा सतर्कता बढाइएको थियो ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal