अरुण काबेलीको नाफामा उल्लेख्य सुधार, प्रतिशेयर आम्दानी २४ रुपैयाँ ३६ पैसा

२०७७ माघ २१ गते, बुधबार

माघ २१, काठमाडौं । अरुण काबेली पावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। कम्पनीको विद्युत बिक्री आम्दानीसँगै खुद नाफामा उल्लेख्य सुधार भएको छ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले १८ करोड २६ लाख रुपैयाँ खुद नाफा गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३ करोड ९८ लाख रुपैयाँ बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ४ करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

१ अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा २७ करोड ५१ लाख रुपैयाँ सञ्चित छ। पुस मसान्तसम्ममा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी २४ रुपैयाँ ३६ पैसा पुगेको छ। त्यसैगरी, कम्पनीको प्रतिशेयर नेटवर्थ ११८ रुपैयाँ ३४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ११.३७ गुणा रहेको छ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal