संवैधानिक आयोगहरुमा ‘बलजफ्ती’ नियुक्तिको तयारी, प्रधानन्यायाधीशले शपथ खुवाउने

माघ २१, काठमाडौं । सरकारले संवैधानिक आयोगहरुलाई पूर्णता दिने भएको छ । संवैधानिक परिषद्ले गरेको विवादास्पद सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आज नियुक्ति गर्ने तयारी गरेको बुझिएको छ ।
सोअनुसार बुधबार बिहान सबैजनालाई राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नियुक्त गर्ने गरी कार्यक्रम तय गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । कानुनतः उनीहरूको नियुक्ति पछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले शपथ खुवाउनेछन् ।
संवैधानिक परिषद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त, राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष, समावेशी आयोगका अध्यक्षलगायत ११ संवैधानिक निकायमा ४५ जनाको नाम नियुक्तिका लागि सिफारिस गरेको थियो ।
तर अध्यादेशअनुसार बसेको संवैधानिक परिषद्को बैठकले गरेका सिफारिस अवैधानिक रहेको दावीसहित सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । ती रिट निवेदनहरुमाथि सुनुवाई भने अझै भएको छैन।
३० मंसिरमा बसेको संवैधानिक परिषद् बैठकले संवैधानिक आयोगमा रिक्त रहेको ४५ जना पदाधिकारी तथा सदस्यहरू नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।