मौसममा न्यून चापीय प्रभावका कारण हिमपातसहित हिउँदे वर्षा शुरु, केही दिन यस्तै रहने

२०७७ माघ २४ गते, शनिबार

माघ २४, काठमाडौं । नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण देशका विभिन्न भागमा हिमपातसहित हिउँदे वर्षा शुरु भएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव अझै केही दिन हिमपातसहितको परिवर्तन हुने मौसमविद्हरूले बताएका छन् ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकको सुदूरपश्चिमका उच्च हिमाली भागमा भारी हिमपात भएको छ । महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशका सबैजसो हिमाली जिल्लामा हिमपात भएको छ । पूर्वी भागका हिमाली क्षेत्रमा भने खासै हिमपात भएको छैन ।

जल तथा मौसम विज्ञान विभागको हावापानी विज्ञान तथा हावापानी विश्लेषण महाशाखाका अनुसार शनिबार दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली भएको छ। बाँकी प्रदेशहरूका भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहने छ । प्रदेश १ का धेरै स्थान तथा प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्का वर्षाको सम्भावना छ ।

‘उच्च पहाडी र हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना पनि छ,’ । शनिबार राति प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका विभिन्न भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । अन्य स्थानहरूको मौसम सामान्य रहनेछ । प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशका केही स्थानका साथै गण्डकी प्रदेशका एक–दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal