कोरोना विरुद्धको खोप : थप २५ लाख खोप नेपाल आउँदै

२०७७ माघ २५ गते, आईतवार

माघ २५, काठमाडौं । सरकारले सञ्चालन गरेको पहिलो चरणको खोप अभियानमा लक्ष्यभन्दा आधा कमले खोप लगाएका छन् । शुक्रवारसम्ममा ४ लाख ३० हजारलाई कोरोना विरुद्धको खोप लगाउने तयारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको थियो । तर सो अवधिमा १ लाख ७१ हजारले मात्र खोप लगाएपछि मन्त्रालयले पहिलो चरणको अभियानमा एक दिन थपेको थियो ।

खोप अभियानको अन्तिम दिन शनिवार साँझसम्ममा करीब २ लाखले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जानकारी दिएको छ । नेपालले दुई साताअघि भारतबाट सहयोग स्वरूप १० लाख डोज खोप प्राप्त गरेको थियो । अक्सफोर्ड र अस्त्राजेनेकाले विकास गरेको तथा भारतको सीरम इन्स्टिच्युटले उत्पादन गरेको ‘कोभिशिल्ड’ खोप भारत सरकारले अनुदानमा उपलब्ध गराएको थियो । नेपाल भित्रिएको तीन दिनमै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर खोप पठाउन शुरू गरेको थियो ।

बुधवारदेखि नै ३०० ओटा खोप केन्द्रबाट खोप लगाउने तयारी थियो । तर सबै केन्द्र खोपका लागि तयार गर्न नसकेपछि शुरूमा १२० केन्द्रबाट खोप अभियान शुरू गरिएको थियो । अभियानको अन्तिम दिनसम्ममा २०१ केन्द्र मात्र खोप भण्डारणका लागि तयार भएका थिए ।
मन्त्रालयले आगामी फागुन १४ गतेदेखि खोपको पहिलो डोज दिएकालाई दोस्रो चरणअन्तर्गत खोप लगाउनेछ । यसैगरी सोही दिनदेखि थप अन्य व्यक्तिलाई पनि खोप लगाउने तयारी गरिएको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए ।

सरकारले सोही दिनदेखि लगाउन शुरू गर्नेगरी चीनले दिने भनेको ५ लाख खोप ल्याउने तयारी गरेको उनले बताए । यस्तै आगामी महीनासम्म विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोभ्याक्स सुविधाअन्तर्गत पहिलो चरणमा २० लाख डोज खोप नेपाललाई उपलब्ध गराउने बताएको छ । नेपालका लागि ब्रिटिश राजदूत निकोला पोलिटले सामाजिक सञ्जालमार्फत बेलायतले कोभ्याक्सलाई गरेको सहयोगमार्फत नेपाललाई अर्को महीनासम्म खोप उपलब्ध गराउने जानकारी दिएकी छन् । डब्ल्यूएचओले नेपालसहित गरीब मुलुकका २० प्रतिशत नागरिकलाई पुग्नेगरी कोभ्याक्स सुविधा दिने निर्णय गरेको छ । सोहीअन्तर्गत कोभ्याक्सको खोप नेपाल आउन लागेको हो ।

सरकारले कोरोना खोप खरीदका लागि ४८ अर्ब रुपैयाँ छुट्ट्याए पनि हालसम्म कुनै पनि कम्पनी तत्काल नेपाललाई खोप दिन तयार भएका छैनन् । रूस, अमेरिका, भारत र बेलायतमा बनिरहेको कोरोनाविरुद्धको खोप खरीदका लागि सम्बन्धित कम्पनीलाई पत्र पठाइसकिएको मन्त्रालयका प्रवक्ता गौतमले बताए । उनका अनुसार सरकारले चीनको अनुदान र पहिलो चरणको अभियानमा बचेको खोप दोस्रो चरणको अभियानमा प्रयोग गर्नेछ । यसअघि स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइ कर्मचारीसहित ‘फ्रन्ट लाइन’मा बसेर काम गर्नेलाई खोप प्रदान गरिएकोमा दोस्रो चरणमा यसअघि खोप दिइएकासहित अन्य सर्वसाधारणलाई पनि खोप लगाउने तयारी गरिएको जानकारी मन्त्रालयले दिएको छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal