काठमाण्डौको न्यूनतम तापक्रम १ डिग्री सेल्सियस, दिउँसो गर्मी बढ्ने अनुमान

२०७७ माघ २५ गते, आईतवार

माघ २५, काठमाडौं । हिमपातका कारण अहिले काठमाण्डौसहित देशका धेरै ठाउँमा चिसो बढेको छ। आज काठमाण्डौको न्यूनतम तापक्रम १ डिग्री सेल्सियस मापन गरिएको छ । हिजो काठमाण्डौसहित धेरैजसो उच्च पहाडी र हिमाली जिल्लामा हिमपात भएको थियो । काठमाण्डौ उपत्यका वरपरका शिवपुरी, चन्द्रागिरी, फूलचोकीसहित नगरकोट क्षेत्रमा हिजो हिउँ परेको छ ।

मकवानपुरको दामन र पालुङ, दोलखाको कालीन्चोकसहित गौरीशङ्कर संरक्षण क्षेत्रका विभिन्न ठाउँ र सिन्धुपाल्चोकका हिमाली क्षेत्रमा पनि हिउँ परेको छ । सुदूरपश्चिमका हिमाली जिल्लामा भने गएको बिहीवार, शुक्रवारदेखि नै हिमपात सुरु भएको थियो । पश्चिमी वायुको प्रभावका कारण हिमपात र केही ठाउँमा हल्का वर्षा भएको मौसमविद्ले बताएका छन् ।

अहिले चिसो भए पनि तापक्रम बिस्तारै बढ्दै जाने मौसमविद्हरुको अनुमान छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अब केही दिन उपत्यकासहित देशका धेरै ठाउँमा दिउँसोको समयमा गर्मी बढ्ने अनुमान गरिएको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal