प्रधानमन्त्री ओली भगवानप्रतिको आस्थासँग खेल्न खोजे : थापा

माघ २५, काठमाडौं । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि जनताको भगवानप्रतिको आस्थासँग खेल्न खोजेको आरोप लगाएका छन् । आइतबार पर्सामा आयोजित सभालाई सम्बोधन गर्दै थापाले ओलीका प्रत्येक कदमको सही ढंगले विश्लेषण गर्न जरुरी रहेको बताए ।
उनले भने, ‘होलीवाइनको त्यत्रो काण्ड रच्दै गर्दा कहिल्यै पशुपति सम्झिनुभएन । अहिले रुद्राक्षको गह्रौं माला लगाएर पशुपतिको चौराहमा घुम्दै हिन्दु धर्म मान्ने तपाईं हाम्रो आस्थामा खेल्न खोज्दै हुनुहुन्छ ।’
सीता माताको प्रदेशका कयौं नागरिकले नागरिकता पाएका छैनन्, तिनलाई नागरिकता दिउँ भन्दा प्रधानमन्त्री केपी ओली कहिल्यै तयार हुनु भएन । तर आज भगवान रामलाई नागरिकता दिन लाग्नुभएको छ’ उनले भने ।
प्रधानमन्त्री ओलीले गरेको संसद विघटन असंवैधानिक भएको भन्दै उनले अदालतले न्याय गर्ने विश्वास व्यक्त गरे । संविधानसभाबाट आफूहरुले बनाएको संविधानमा बहुमत प्राप्त प्रधानमन्त्रीले संसद विघटन गर्ने ठाउँ नभएको दावी गरे ।