शेयर बजारमा उछाल कायमै, नेप्से परिसूचक ३७.४८ अंकले बढ्यो

माघ २६, काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचकले नयाँ अलटाइम हाइ रेकर्ड बनाएको छ। यस दिन नेप्सेले अघिल्लो कारोबार दिन अर्थात आइतबारको रेकर्डलाई तोडेर नयाँ रेकर्ड कायम गरेको हो। हिजो आइतबार ४८.७४ अंकले बढेर दुई नयाँ रेकर्ड कायम गरेको नेप्सेमा आज (सोमबार) पनि उछाल आएको हो ।
आज नेप्से ३७.४८ अंकले बढेर २५६१.४७ विन्दुमा पुगेको छ । यसअघि २०७७ माघ २५ गते आइतबार नेप्से दुई हजार पाँच सय २४ विन्दुमा पुगेर नयाँ रेकर्ड कायम गरेको थियो ।
त्यस्तै, आज नेप्सेमा १० अर्ब ६१ करोडको कारोबार भएको छ भने कारोबार भएका १२ समूह मध्ये ५ समूह घटेका छन् अन्य ७ समूह बढेका छन् ।
कारोबार रकमका आधारमा यस दिन प्रभु बैंकको शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ५७ करोड ६४ लाख ६९ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, नबिल बैंक, डिप्रोक्स लघुवित्त र नेपाल लाइफको ३० करोड रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। यस दिन उन्नती सहकार्य लघुवित्त र हिमालयन उर्जाको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी घटेको छ।