खडगप्रसाद ओली व्यक्ति हैनन् प्रवृत्ति हो, यो पात्रको विरोध हैन, प्रवृत्तिको विरोध हो: नेतृ झाँक्री

२०७७ माघ २८ गते, बुधबार

माघ २८, काठमाडौं । नेकपाको दाहाल–नेपाल समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले लामो संघर्षबाट प्राप्त उपलब्धिलाई च्युत गर्ने प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध बोल्न पाउनुपर्ने बताएकी छन् । बुधबार काठमाडौंमा आयोजित दाहाल–नेपालसमूहको विरोध सभामा बोल्दै नेतृ झाँक्रीले निर्वाचनको प्रक्रियाबाट गएका पात्र निरंकुशताको साक्षी बसे त्यसविरुद्ध बोल्ने बताएकी हुन् ।

उनले भनिन्, ‘मन्त्रिपरिषद्का निर्णयलाई खुसुक्क सहीछाप गर्ने राष्ट्रपति, सम्माननीय संस्था हाम्रो बलिदानीले प्राप्त संस्था हो । त्यो संस्थामा निर्वाचनको प्रक्रियाबाट गएकोले निरंकुशताको साक्षी बस्छ भने त्यस्ता पात्रको विरुद्ध बोल्नु पर्छ । कस्ले भन्छ बोल्न पाइदैन भनेर ?’

नेतृ झाँक्रीले प्रधानमन्त्री ओली कागजको बादशाह भएको र उनी ढलिसकेको अन्तिम घोषणा गर्न मात्र बाँकी रहेको दाबी गरिन् । ‘आजको मानवसागरले भन्छ खड्गप्रसाद ओली कागजको बादशाह हुन् । ती ढलिसक । अब अन्तिम घोषणा गर्न बाँकी छ । जब बादशाह वा तानाशाहले आफ्नो कदलाई घटाउँदै राज्य सत्ताको दुरुपयोग गरेर कागजका अग्ला अग्ला प्रतिमा बनाउँछन् । ओलीले त्यहि गरेका छन् । यो अधोगति हो,’ उनले भनिन् ।

सर्वोच्च अदालतले संविाधान र कानुन अनुसार फैसला गर्ने विश्वास आफूहरुलाई रहेको झाँक्रीले बताइन् । अहिलेको लडाइ पात्रकोविरुद्ध नभएर प्रवृत्तिको विरुद्ध भएको उनको भनाइ छ । खडगप्रसाद ओली व्यक्ति हैनन् प्रवृत्ति हो । यो लडाइँ जितिसकेका छौं । अब कहिल्यै खड्गप्रसाद ओली प्रवृत्ति नदोहोरियोस् । त्यसको घोषणा गर्ने हो । यो पात्रको विरोध हैन, प्रवृत्तिको विरोध हो, उनले भनिन् ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal