सरकारले घोषणा गरेको चुनावले संविधान र लोकतन्त्रलाई ध्वंस पार्छ, त्यसलाई आन्दोलनले खारेज गर्छ : श्रेष्ठ

२०७७ माघ २८ गते, बुधबार

माघ २८, काठमाडौं । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले आगामी वैशाखका लागि सरकारले घोषणा गरेको चुनावले संविधान र लोकतन्त्रलाई ध्वंस पार्ने भएकोले आफूहरुको आन्दोलनले त्यसलाई खारेज गर्ने बताएका छन् ।

प्रतिनिधिसभा विघटनको विरोधमा काठमाडौंमा बुधबार आयोजित विरोधसभामा सम्बोधन गर्दै श्रेष्ठले प्रधानमन्त्री केपी ओलीले घोषणा गरेको वास्तविक चुनाव नभएकोले त्यसलाई प्रतिगमनविरुद्धको आन्दोलनले खारेज गर्ने दाबी गरे ।

‘वास्तवमा केपी ओलीले यो चुनाव गर्न घोषणा गरेको पनि होइन । चुनाव नगर्नलाई घोषणा गरिएको चुनाव संविधान र लोकतन्त्रविरोधी भएको हामी धज्जी उडाउँछौं र हामी प्रतिगमनविरोधी आन्दोलनलाई सफल बनाएर त्यसलाई खारेज गर्न तत्पर छौं,’ प्रवक्ता श्रेष्ठले भने ।

श्रेष्ठले प्रधानमन्त्री ओलीले नेपालमा फाँसीवादको अभ्यास गरिरहेको आरोप लगाए । प्रधानमन्त्री ओलीले विकासको नारा दिएर, संविधान र लोकतन्त्रलाई उपहास गरेर, संविधानलाई औपचारिक रुपमा खारेज नगरीकन संविधानको धारा र अक्षरहरुमा कालोमसी पोतेर, लोकतन्त्रको हत्या गरेर फाँसीवादको अभ्यास गरेको उनको भनाइ छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal