काठमाडौंमा महिला मार्च, टाउकोमा सेतो कपडा बेरेर सेतो धोती लगाएर प्रतिकात्मक रूपमा शंख बजाउँदै शवयात्रा

२०७७ माघ ३० गते, शुक्रबार

माघ ३०, काठमाडौं । न्याय र समताका लागि बृहत् नागरिक आन्दोलनले शुक्रबार सिंहदरबार महिला मार्च निकालेको छ । महिला हिंसा र दण्डहीनताका अन्त्यको माग गर्दै बसन्तपुरमा भेला भई न्युरोड–रत्नपार्क–भद्रकाली हुँदै सिंहदरबारको अगाडिको सडकसम्म महिला मार्च निकालिएको हो ।

विरोध र्यालीमा सरकारले महिला हिंसा रोक्न नसकेको, बलात्कार र हत्याका घटनाहरू नरोकिएको भन्दै आक्रोश पोखिएको छ । प्रतिगमनविरुद्ध बृहत् नागरिक आन्दोलन’ नामको ब्यानरमा प्रदर्शनमा उत्रिएका उनीहरूले महिला हिंसा बन्द गर्न, बलात्कारीलाई सजाय दिन, हत्यारा पहिचान गरी कारबाही गर्न माग गरेका छन् ।

विरोध प्रदर्शनका क्रममा हरेक दिन प्रतिगमन भएको भन्दै हिंसा र प्रतिगमन रोक्न माग गरेका छन् । कार्यक्रममा जनता समाजवादी पार्टीकी नेतृ एवं पूर्वमन्त्री हिसिला यमी, राष्ट्रिय मानव अधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारी लगायत सहभागी थिए ।

मार्चमा सहभागीहरूले प्रतिकात्मक रूपमा शवयात्रा गरेका छन् । जसमा एकोहोरो शंख बजाउँदै प्रतिगमनको विरोध गरिएको थियो । टाउकोमा सेतो कपडा बेरेर सेतो धोती लगाएका केही युवाहरूले प्रतिकात्मक शवलाई बोकेर शवयात्रा गरेका थिए । आन्दोलनकारीले बलात्कारपछि हत्या गरिएका कञ्चनपुरकी निर्मला पन्त, बैतडीकी भागरथी भट्ट लगायतलाई न्यायको माग गरेका छन् ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal