दुनियाँको कुनै ताकतले निर्वाचन रोक्न सक्दैन, अघिल्लो भन्दा धेरै सिट जित्छौं : पौडेल

२०७७ फाल्गुन १ गते, शनिबार

फागुन १, बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले दुनियाँको कुनै ताकतले बैशाखमा हुने निर्वाचन रोक्न नसक्ने बताएका छन।

ओली पक्षीय नेकपाको लुम्बिनी प्रदेश कमिटीले शनिबार बुटवलमा आयोजना गरेको जनसभामा महासचिव पौडेलले निर्वाचन बैशाख १७ र २७ गते नै हुने जिकिर गरे।

‘मानिसहरुमा चुनाव हुँदैन कि भन्ने भ्रम छ, ‘बैशाखको १७ गते चुनाव हुन्छ, बैशाखको २७ गते चुनाव हुन्छ, दुनियाँको कुनै ताकतले यो चुनावलाई रोक्न सक्दैन ।’ पौडेलले लुम्बिनी प्रदेशमा अघिल्लो निर्वाचन भन्दा धेरै स्थानमा चुनाव जित्नेसमेत दाबी गरे।

पौडेलले पार्टी विभाजन भएको नभई पार्टी, देश र जनताको हित नचाहने केही व्यक्तिहरू चोइटिएर गएको बताए। ‘बुटवलमा जुटेको जनमत पार्टी फुटेको छैन, पार्टी एक छ र ओली नेतृत्वमै छ भन्ने पुष्टि गरेको छ,’ उनले भने।

अर्थमन्त्रीसमेत रहेका पौडेलले पूर्वपार्टीको लिगेसीका कारण केही नेताहरूलाई अप्ठ्यारो परेको भए पनि अलमलमा नपरी र अप्ठ्यारो नमानी ओली नेतृत्वमा आउन आग्रह गरे।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal