अमेरिकी सिनेटमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाअभियोग प्रस्ताव अस्वीकृत

२०७७ फाल्गुन २ गते, आईतवार

फागुन २, काठमाडौं । अमेरिकी सिनेटमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाअभियोग प्रस्ताव अस्वीकृत भएको छ । माथिल्लो सदन सिनेटले जनवरी ६ तारिखमा संसद भवनमा भएको हिंसात्मक आक्रमणमा ट्रम्प संलग्न भएको आरोपबाट मुक्त गरेपछि उहाँ महाअभियोगबाट जोगिएको भएको बीबीसीले जनाएको छ ।

सिनेटमा ट्रम्पविरुद्धको दोस्रो पटकको महाअभियोग प्रस्तावमाथिको सुनुवाइपछि मतदान भएको थियो । तर, महाअभियोग पारित हुनका लागि चाहिने दुई तिहाइ मत जुट्न सकेन । रिपब्लिकनसहितका ५७ सिनेटरले महाअभियोगको पक्षमा मतदान गरे पनि दोषी ठहर गर्नका लागि चाहिने दुई तिहाइका लागि १० सिनेटरको मत नपुगेको हो।

माथिल्लो सदन सिनेटमा एक सय सदस्य रहेकोमा महाअभियोग पारित हुनका लागि दुई तिहाइ अर्थात् ६७ सदस्यको मत चाहिन्छ । गएको जनवरी ६ मा संसद भवनमा भएको हिंसात्मक आक्रमणका लागि समर्थकलाई उक्साएको आरोपमा ट्रम्पमाथि महाअभियोग लगाउन प्रस्ताव गरिएको थियो ।

तल्लो सदन हाउस अफ रिप्रिजेनटेटिभले जनवरी १३ मा ट्रम्पमाथिको महाअभियोग प्रस्ताव पारित गरेको थियो । यसअघि ट्रम्पमाथि सन् २०१९ को अन्त्यमा शक्तिको दुरुपयोगसहितका आरोपमा महाअभियोग लागेको थियो । ट्रम्प अमेरिकी इतिहासमा दुईपटक महाभियोग लाग्ने पहिलो अमेरिकी राष्ट्रपति हुन ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal