सामाजिक सुरक्षा योजना कार्यविधि संशोधन

२०७७ फाल्गुन ३ गते, सोमबार

फागुन ३, काठमाडौं । सरकारले २ वर्षपहिले तामझामका साथ शरुआत गरेको सामाजिक सुरक्षा कार्यक्रम व्यावहारिक बन्न नसकेको भन्दै चौतर्फी आलोचना भइरहेका बेला यससम्बन्धी कार्यविधि संशोधन गरेको छ । मन्त्रिपरिषद्को माघ २९ गतेको बैठकले सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७५ लाई दोस्रोपटक संशोधन गरी कार्यान्वयनमा ल्याएको हो ।

हाल कोषले सञ्चालन गर्दै आएको औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजना, आश्रित परिवार सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना र वृद्ध अवस्था सुरक्षा योजना गरी ४ किसिमका सुविधा छन् । तर, यी योजनाहरूमा स्पष्ट मापदण्ड थिएनन् ।

कार्यविधि संशोधन गर्दै कोषले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना सुविधाका लागि योग्य हुन जम्मा गर्नुपर्ने योगदान रकम निरन्तर ३ महीना हुनुपर्ने प्रावधानलाई स्पष्ट पारिदिएको छ । अस्पताल भर्ना नभई उपचार गर्दा पाउने रकम उपयोग नगरेका वा कम उपयोग गरेकाहरूले उक्त सीमाभित्र रही बाँकी रहेको रकम अस्पतालमा भर्ना भई उपचार गर्दा थप हुन सक्ने व्यवस्था मिलाइएको कोषका प्रवक्ता विवेक पन्थीले बताए । यस्तै, मातृत्व सुरक्षाअन्तर्गत योगदानकर्ताको पत्नी सुत्केरी भएपश्चात् ६ हप्तासम्मको उपचार खर्चसमेत पाउने गरी थप व्यवस्थित बनाइएको कोषले जानकारी दिएको छ ।

यसै योजनाअन्तर्गत निवृत्तिभरण प्राप्त गरेका योगदानकर्ताले चाहेमा आफ्नो मासिक निवृत्तिभरणवाट निश्चित रकम कट्टा गरी औषधि उपचार सुविधालाई निरन्तरता दिन सक्ने व्यवस्था गरिएको छ । त्यस्तै, दुर्घटना तथा अशक्तता सुरक्षा योजनाअन्तर्गत रोजगारीका क्रममा दुर्घटना भएको व्यक्तिको उपचारलाई पारदर्शी बनाउनेसम्बन्धी व्यवस्था गरिएको छ । यसै योजनाअन्तर्गत अशक्तता वृत्तिको अधिकतम सीमा हटाइएको छ । आश्रित परिवार सुविधा योजनाअन्तर्गत विदेशी नागरिकको मृत्यु भई निजको हकवालाले पाउने रकम एकमुष्ट लिन चाहेमा ७ लाख रुपैयाँसम्म लिन सक्ने व्यवस्था गरिएको छ ।

कोषबाट सञ्चालनमा ल्याइएको वृद्ध अवस्था सुरक्षा योजनाअन्तर्गत जम्मा हुने योगदानकर्ताको आधारभूत पारिश्रमिकको २८ दशमलव ३३ प्रतिशत रकमलाई निवृत्तिभरण योजनामा २० प्रतिशत र अवकाश सुविधा योजनामा ८ दशमलव ३३ प्रतिशत रकम जम्मा हुने व्यवस्था गरिएको कोषले बताएको छ ।

निवृत्तिभरण योजनामा जम्मा भएको कुल रकमलाई १८० ले भाग गरी मासिक रूपमा निवृत्तिभरण दिने व्यवस्था भएकोमा १८० भाजकलाई १६० कायम गरी मासिक निवृत्तिभरण रकम अधिक हुन सक्ने गरी व्यवस्था मिलाइएको छ । २०७८ असार मसान्तभित्र योगदान शुरू गर्ने योगदानकर्ताहरूले चाहेमा निवृत्तिभरण अन्तर्गतको २० प्रतिशत रकमसमेत अवकाश सुविधा योजनामा जम्मा गर्न सक्ने व्यवस्था गरिएको कोषले बताएको छ ।

अवकाश सुविधा योजनामा जम्मा भएको रकम अवकाश हुँदा वा जागीरबाट अलग हुँदा निकाल्न पाउने तथा जागीरमा हुँदै ८० प्रतिशतसम्म विशेष सापटीका रूपमा प्रदान गर्न सकिने व्यवस्था गरिएको छ ।

अवकाश सुविधा योजनाअन्तर्गत नियमित रूपमा ८ दशमलव ३३ प्रतिशत रकम जम्मा गर्ने व्यवस्थाका अतिरिक्त कुनै योगदानकर्ताले स्वैच्छिक रूपमा जम्मा गरेको रकम, अन्य अवकाश कोषबाट हस्तान्तरण भई आएको रकम, योगदानकर्ताहरूले चाहेमा न्यूनतम आधारभूत पारिश्रमिकको तीन गुणाभन्दा बढी निवृत्तिभरण योजनामा जम्मा हुने सीमाभन्दा बढीको रकम र ६० वर्ष उमेर पूरा भएका योगदानकर्ताहरूको निवृत्तिभरण अन्तर्गतको रकमसमेत अवकाश सुविधा योजनामा जम्मा हुने व्यवस्था गरिएको छ ।

सामजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७५ को दोस्रो संशोधनबाट सुविधा योजनाहरूलाई उच्चतम तहमा पुर्याउने, योगदानकर्तामैत्री बनाउने तथा योगदानकर्ताको हितमा परिचालन गराई दिगो सुनिश्चित प्रतिफल प्राप्त गर्ने कोषले अपेक्षा लिएको बताइएको छ । कोषका अनुसार अहिलेसम्म १३ हजार २ सय ६१ रोजगारदाता तथा १ लाख ८९ हजार २३४ योगदानकर्ता सहभागी भएका छन् । यो समाचार आजको आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal